काठमाडौं । दक्षिण एसियाली फुटबल महसंघ (साफ) महिला यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग १-१ को बरारीमा रोकिएको छ ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल स्टेडियममा मंगलबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा नेपाल अंक बाँड्न बाध्य बन्यो ।
खेलको आठौं मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिइन् । ७५ औं मिनेटमा सागोरिकाले गोल गर्दै बंगलादेशलाई बराबरीमा ल्याइन् ।
यस नितजासँगै साविक विजेता नेपालले चार खेलमा चार अंक जोड्दै चौथो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । यसअघि भारतसँग ४-१ तथा रूससँग ३-० को पराजय ब्यहोरेको नेपालले भुटानलाई ५-० ले हराएको थियो ।
बंगलादेशले समान खेलबाट सात अंक जोड्यो । यसअघि भुटानलाई ८-१ र भारतलाई १-० ले हराएको बंगलादेश रूससँग ३-० ले पराजित भएको थियो ।