काठमाडौं । भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले जम्माजम्मी दुई साताको तयारी गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रशिक्षकको जिम्मेवारी पूर्वखेलाडी अनन्तराज थापालाई दियो । थापाले दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपकै अधिकांश खेलाडीलाई निरन्तरता दिए ।
थोरै थपघटबाहेक पुरानै खेलाडीलाई निखार्दै थापाले २३ सदस्यीय टोली चेन्नई लगेका थिए । नेपाल फिफा वरीयतामा आफूभन्दा ४२ स्थान माथि रहेको भारतविरुद्ध चुनौती पेस गर्दै थियो । ‘हामीसँग विकल्प छैन, छोटो समयमा राम्रो नतिजा निकाल्ने चुनौती छ,’ प्रशिक्षक थापाले भारत उड्नुअघि भनेका थिए ।
नेपालमा राम्रो अभ्यास हुन सकेको थिएन । यु-२० टोलीमा रहेका प्रीति राई, अमिशा कार्की र दीपा शाहीले भारत जानुभन्दा एक दिनअघि मात्रै टिमसँग प्रशिक्षण गरेका थिए । त्यो पनि मौसम र मैदानले साथ नदिँदा राम्रो हुन सकेन । छोटो समयको तयारीमा सीमित राष्ट्रिय महिला टोलीले त्यसमा पनि रंगशाला उपलब्ध नहुँदा प्रशिक्षण सोचेजस्तो हुन सकेन । देशकै एकमात्र दशरथ रंगशाला त्यतिबेला दिनभर रग्बी प्रतियोगिताका लागि व्यस्त थियो । यही कारण साँझ ६ बजेपछि रग्बीकै पोस्टमा लगभग आधा घण्टाको अभ्यासमा चित्त बुझाउँदै नेपाली टोली भारत पुगेको थियो ।
भारत पुगेपछि पनि नेपाली टोलीेले तयारीका लागि पर्याप्त अवसर पाएन । भारतमा नेपाली टिमले एक दिनमात्रै तयारी गर्न पायो । त्यही अभ्यासमा यु-२० टोलीकी कप्तान प्रीति राई बिरामी भइन् । प्रशिक्षक थापामाथि दबाब थपियो । टिममा अनिता केसीले प्रीतिको ठाउँ लिइन् । नेपालले पहिलो खेलमा भारतलाई २-२ को बराबरी रोक्यो । नेपाली सेनाको मिसनमा विदेश जाने मौका पाएपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेकी रक्षक पुनम जर्घामगरको स्थान समिक्षा घिमिरेले पूरा गरिन् । यसैगरी गीता राना, अमृता जैसी र हीराकुमारी भुजेलको उपस्थितिले नेपालको रक्षांपक्ति बलियो थियो ।
थापाले मिडफिल्डमा पाँच खेलाडी खेलाए । आक्रमणमा दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीले जिम्मेवारी पाइन् । अमिशा, रश्मिकुमारी घिसिङ, अनिता केसी, सरु लिम्बू र विमला चौधरीले मिडफिल्डबाट खेल बनाइरहे । कप्तान एन्जिला तुम्बाप्पो सुब्बा गोलरक्षकको भूमिकामा थिइन् ।
पहिलो हाफमा नेपालले सोचेको भन्दा उत्कृष्ट प्रदर्शन गर्यो । आक्रामक प्रदर्शनका साथ घरेलु टोलीलाई पूर्ण रूपमा दबाबमा राख्यो । पहिलो हाफमै सावित्रा र रश्मिले पाएका राम्रा अवसर गुमाउँदा नेपाल अग्रता लिनबाट चुकेको थियो । दोस्रो हाफमा मुख्य रक्षक गीता घाइते हुँदा नेपालले लगातार दुई गोल बेहोरेको थियो ।
तर, खेलको ९०औं मिनेटमा भारतीय रक्षक स्विटी देवीले बक्सभित्र हातले बल छोएपछि नेपालले पेनाल्टी पायो । सावित्राले सहज गोल गर्दै विपक्षीको अग्रता २-१ मा झारिन् । आक्रामक बनेको नेपालका लागि अर्काे एक मिनेटमै काउन्टर अट्याकमा सरु लिम्बूले मिलाएको पासलाई सावित्राले प्रभावशाली गोल गर्दै हार टारिन् ।
‘गीता घाइते हुँदा हामीलाई समस्या भयो । पहिलो हाफमा पाएको अवसर गुमाउनु हामीले जित हासिल गर्न नसक्नुको मुख्य कारण रह्यो,’ पहिलो पटक महिला फुटबल टोलीको नेतृत्व गरिरहेका थापाले भने ।
दोस्रो खेलमा नेपाल गीताविना मैदान उत्रियो । मुख्य रक्षकको भूमिकामा विमला बिक आइन् । नेपाल यु-१९ टोलीकी रक्षक विमलाले आफूलाई प्रमाणित गरिन् । समिक्षाले पनि दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरिन् । गीता टोलीमा नहुँदाको मनोवैज्ञानिक दबाब नेपाली टोलीमा थियो । प्रशिक्षक थापाले रक्षापंक्तिलाई दबाबमुक्त पार्ने रणनीति बनाए । तर, जवाहरलाल नेहरू रंगशालामा भारतले एकोहोरो दबाब सिर्जना गरेको थियो । अघिल्लो खेलमा जस्तो यसपालि नेपालले काउन्टर अट्याकमा मुभ बनाउन पनि सकेन ।
तर, कप्तान तथा गोलरक्षक एन्जिलाले भारतका केही अप्रत्यासित प्रहार रोकेर नेपालको हार टारिन् । एन्जिलाले करियरमै यस्तो खेल दोस्रो पटक खेलेकी थिइन् । ‘खोइ भारतविरुद्ध आफैंलाई मनपर्ने खेल खेलेको थिएँ । गोलकिपरका रूपमा भारतका कतिपय आक्रमण अत्यन्तै अप्रत्यासित थिए,’ एन्जिला भन्छिन्, ‘महिला गोलकिपरले कमै मात्र यस्तो खेल खेल्न पाउँछन् । सामान्यतयः पोस्टमा बल नै एकदम कम आउँछन् ।’
भारत र नेपाल दुवै ओलम्पिक छनोटको तयारीमा छन् । त्यसैको तयारीका लागि भारतले नेपाललाई दुई मैत्रीपूर्ण खेलको निम्तो दिएको थियो । मार्चमा नेपालले भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग खेल्दै छ ।
महिला लिग र उमेर समूहको प्रशिक्षण राम्रो नभए पनि नेपाली टोलीको प्रदर्शनमा चित्त बुझाउने ठाउँ पर्याप्त छ । महिला फुटबलका लागि गरेको लगानी हेर्दा नेपाली टोलीबाट भारतमाथि जित अपेक्षा गर्न सक्ने नैतिक अवस्थामा अखिल नेपाल फुटबल संघ छैन ।
गतवर्ष आधा भएर रोकिएको महिला लिग अझै अलपत्र छ । महिला टोलीले लिग समेत खेल्न पाएको छैन । अन्य प्रतियोगिता पनि कुनै छैनन् । महिला फुटबलका लागि नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा पूर्णतः मौन छ । गतवर्ष चितवनमा भएको पहिलो चरणपछि दोस्रो चरण विराटनगरमा हुने बताइएको थियो । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा पहिलो चरण सम्पन्न भयो । तर, दोस्रो चरण हुने मिति नजिकिँदै गर्दा एन्फा चुनाव भयो ।
निर्वाचनमा पंकजविक्रम नेम्बाङले शेर्पालाई पछि पार्दै नेतृत्व हत्याए । त्यसपछि शेर्पाको नेतृत्वमा सुरु भएको महिला लिग पनि पछि पर्यो । उसै विभेदको सिकार बन्दै आएको महिला फुटबलले शेर्पाविरुद्ध नेम्वाङको आक्रमणको निसाना बन्नुपर्यो । अर्को महिना लिग रोकिएको एक वर्ष पूरा हुँदै छ । नयाँ लिग पनि अहिले सुरु भइसक्नुपर्ने थियो । तर अझै एन्फाले यसको विषयमा ठोस निर्णय लिन सकिसकेको छैन ।
आफूले गर्नुपर्ने सबै कामबाट विभिन्न बहानामा पन्छिँदै अन्तर्राष्ट्रिय अनुदान आउने यस्ता मैत्रीपूर्ण खेल खेलाएर एन्फा आफ्नो अकर्मण््यता छोप्न प्रयासमा लिप्त छ । ‘लिग यहिबाट सुरु गर्ने कि नयाँ गर्ने हामी तयारी गरिरहेको छौं,’ चेन्नई जाने क्रममा महिला टोलीलाई बिदाइ गर्दा एन्फाका तत्कालीन कार्यबाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको गैरजिम्मेवार अभिव्यक्ति आएको थियो ।
लिग नभइरहँदा महिला खेलाडीहरूले भोगेका बेदना नेम्वाङ र खड्काहरूले बुझून पनि कसरी ? त्यसका लागि फुटबल मन चाहिन्छ । उनीहरूसँग भएको त सत्ता हत्याउन चाहिने षडयन्त्रकारी मन न हो ।
लिग नभएपछि सहभागी टोलीहरूले अभ्यास समेत रोकेका छन् । सहभागी टोली कुन अवस्थामा छन् भन्ने एन्फालाई थाहा छैन । नेपाली टोलीका अधिकांश खेलाडी विदेशी लिग खेल्ने तयारीमा छन् । कप्तान एन्जिला, सावित्रा र गीता भारतीय लिगमा अनुबन्ध भइसकेका छन् । तीनै खेलाडी भारतमा पहिलो चरणको प्रशिक्षण सक्काएर मैत्रीपूर्ण खेल खेल्न नेपाल फर्किएका हुन् । उनीहरू केही सातापछि भारत प्रस्थान गर्दै छन् ।
यसैगरी प्रीति राई, दीपा शाही, सरु लिम्बू, अनिता केसीलगायत खेलाडीलाई भारत र बंगलादेशको महिला लिग खेल्न प्रस्ताव आएको छ । खेलाडी त्यसतर्फ प्रस्थान गर्ने अन्तिम तयारीमा छन् ।
‘लिग हुने नहुने पक्का हुनै सकेन । भारतविरुद्ध त्यति राम्रो खेलेका छौं । एन्फाले पनि सोहीअनुसार महिला लिगलाई व्यवस्थित बनाउनुपर्छ । तर हाम्रो नेतृत्वमा कुनै भिजन नै छैन । यस्तो अवस्थामा विदेशबाट लिग खेल्ने प्रस्ताव आएपछि उता जानुको विकल्प हामीसँग छैन,’ राष्ट्रिय टोलीकी एक खेलाडी भन्छिन्, ‘खासमा हामीलाई प्रस्ताव आएका विदेशी लिगको स्तर धेरै राम्रो छैन । त्यसमाथि सीमित खेलाडीलाई मात्र त्यस्तो प्रस्ताव आएको छ । राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने अधिकांश खेलाडी देशमा प्रतियोगिता नहुँदा घाँस दाउरामा सीमित हुनुपरेको छ । तैपनि हामीले नेपाली फुटबलको इज्जत जोगाइरहेका छौं । एन्फामा सुट-टाइ लगाएर आफ्नै स्वार्थका लागि सधैं भिडिरहने नेताहरूले लाज मान्नुपर्ने हो ।’
नेपालले मार्चमा ओलम्पिक छनोट खेल्दै छ । समूहमा भियतनाम मात्रै बलियो प्रतिद्वन्द्वी हो । नेपाली खेलाडीहरू भियतनामलाई पनि हराउँदै दोस्रो चरणमा पुग्नेमा आत्मविश्वासी छन् । तर त्यसका लागि उनीहरूको सर्त छ, ‘तत्कालै विशष प्रशिक्षणको व्यवस्था गर्नुपर्यो ।’
तर, आर्थिक व्यवस्थापनका लागि सरकार र अन्तर्राष्ट्रिय अनुदानको मुख ताक्नुबाहेक माखो मार्न नसकेको एन्फा नेतृत्व भने आर्थिक स्थिति कमजोर भन्दै पन्छिन खोजिरहेको छ ।
‘भारतसँग खेलेपछि ओलम्पिकको तयारी गराउनुपर्ने हो । तर त्यो हुँदैन जस्तो छ । पुरुष लिग काठमाडौंमा हुँदै छ । यत्तिको नालायक नेतृत्वले मोफसलमा टिम लगेर प्रशिक्षण गराउने आँट गर्ने छैन । कमजोर आर्थिक स्थितिको बहाना गरिएको छ । पोखरा जाने कुरासम्म भइरहेको छ । जे भए पनि हामीलाई चाहिएको प्रशिक्षण हो । तपाईहरू राजनीति गर्नुस्, आफ्नो स्वार्थ सोझ्याउनुस्, विदेश सयर गर्नुस्, जेसुकै गर्नुस् हामीलाई मतलब छैन । हामीलाई खेल्ने वातावरण बनाइदिनुस्,’ टोलीका एक खेलाडीले गुनासो गर्दै आक्रोस पोखिन् ।