फ्रेन्च लिग वान

मोनाकोसँग पिएसजीको हार

पेरिस । फ्रेन्च लिग वानको महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) को खराब लयले निरन्तरता पाएको छ । 

शनिबार पिएसजी लिग वानमा मोनाकोसँग ३-१ ले पराजित भयो । सो खेलमा चोटका कारण लियोनल मेसी र केलियन एमबाप्पे अनुपस्थित थिए । 

खेलको चौथो मिनेटमा एलेक्जेन्डर ग्लोभानीले गरेको गोलमा पिएसजीले अग्रता लिएको थियो । १८औं मिनेटमा बेन यडरले गोल गर्दै मोनाकोको अग्रता दोब्बर पारेका थिए ।

३९औं मिनेटमा वारेन जायरी इमिरेको गोलमा पिएसजीले खेलमा फर्कने संकेत गरेको थियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बेन यडरले मोनाकोका लागि तेस्रो गोल गरे ।

वर्ष २०२३ सुरु भएयता पिएसजीले लिग वानमा व्यहोरेको यो तेस्रो हार हो । 

पिएसजीले मंगलबार च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखको सामना गर्दैछ । तर शीर्ष खेलाडीको चोट र लगातारको खराब लयले पिएसजीलाई सो खेल सहज नहुने निश्चित छ ।

पिएसजी २३ खेलमा ५४ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको मार्सेलीभन्दा पाँच अंक बढी हो । मोनाको भने ४७ अंकसहित तेस्रो स्थानमा छ ।