वैशाख २९, २०८२ सोमबार | ०३:२७:५०
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

फुटबलमा साख गुमाइरहेको मनाङ

काठमाडौं । नेपाली फुटबलमा सबैभन्दा सफल क्लब कुन हो ? फुटबल हेर्ने जो कोही नेपालीले नहिच्किचाइकन भन्ने नाम हो मनाङ मस्र्याङ्दी क्लब । ठमेल ११ ले समेट्न नसकेपछि त्यहाँबाट अलग्गिएका युवाहरूले नयाँनामसँगै नेपाली फुटबलमा धेरै कीर्तिमान रचे ।

मनाङ मस्र्याङ्दी क्लबको नाम निर्विवाद महारथीको रूपमा स्थापित भइरहँदा  पुराना भनिएका थुप्रै क्लबको अस्तित्व मेटियो । र, नयाँ बादशाहको जन्म भयो मनाङ मस्याङ्दीको नाममा । यसक्रममा सम्पूर्ण मनाङ जिल्लाको अपनत्व रहेको टोलीले स्थापनाको ४१ वर्ष बित्नै लाग्दा सबैभन्दा धेरै आठ पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग जितेको इतिहास बनाएको छ ।

स्थापनासँगै सफलताको बुर्कुसी मार्दै अगाडि बढ्ने क्रममा मनाङले लगातार ‘सी’ डिभिजन र ‘बी’ डिभिजनमा च्याम्पियन हुँदै शीर्ष डिभिजनको हैसियत हासिल गरेको थियो । ‘ए’ डिभिजन लिगमा बढुवा वर्ष टोली च्याम्पियन भएको थियो ।

त्यसका लागि मनाङले नेपालमा उपलब्ध सबैजसो स्टार खेलाडी अनुबन्ध गरेको थियो । २०४३ सालमा सुरु भएको शीर्ष डिभिजन लिग जित्ने उपलब्धिको यात्राले २०७५ सालमा आठौं लिग उपाधि हासिल गर्यो ।

त्यसपछि के त ? त्यसपछि चाहिँ मनाङले आफ्नो परिचय गुमाउँदै गएको छ । अघिल्ला पुस्ताले स्थापना गरेको विरासत गुमाउँदै गएको छ । अर्थात अब निर्विवाद महारथीबाट मनाङ एउटा सामान्य क्लब बन्ने बाटोमा अग्रसर देखिन थालेको छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ बाट शीर्ष डिभिजन लिग गर्ने मिति तोकेको छ । तोकिएकै मितिमा लिग सुरु भए मनाङ उपाधि दाबेदारको हैसियतमा नदेखिन सक्छ । कारण, मनाङले आसन्न लिगका लागि खेलाडी अनुबन्धनमा विगतको जस्तो जोश देखाएको छैन । मनाङसँग जोडिन खेलाडीबीच पहिला जस्तो प्रतिस्पर्धा नै देखिन्छ । 

परिवर्तनशील समयले यसै भनिरहेको छ । नाम चलेका स्टार खेलाडीहरू मनाङसँग जोडिनुभन्दा पनि अलग्गिन चाहन्छन् । कारण आ-आफ्नै छन् । नबुझ्ने कमै होलान् ।

मनाङका अध्यक्ष विजय घले भने ठूला नामका राष्ट्रिय खेलाडी जम्मा गरेर मात्रै उपलब्धि हासिल नहुने विश्वास राख्छन् । ‘राष्ट्रिय टोलीका सबै खेलाडी राखेर पनि केही हुँदैन । हामी युवा टोलीबाट नतिजा चाहन्छौं । अहिले हामीसँग भएका खेलाडी पनि नेपालको उमेर समूहबाट खेलिसकेका छन् । हामी यी खेलाडीबाटै उत्कृष्ट प्रदर्शन गर्न चाहन्छौं,’ घले भन्छन् ।

पछिल्लो पटक ०७५ सालमा लिग जित्दा मनाङसँग राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङको साथ थिएन । उनले त्यही सिजनमात्र ब्रिगेड ब्वाइज रोजेका थिए । ०७५ मा लिग जिताएका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, गोलरक्षक विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङलगायतमा खेलाडी २०७६ सालको लिगमा मछिन्द्र फुटबल क्लबतिर लागे ।

स्टार नाममा अञ्जन विष्ट, विमल रानालगायतले भने मनाङसँगको सहकार्यलाई निरन्तरता दिइरहे । मनाङको नाम र प्रदर्शनअनुसार व्यवस्थापन नभएको खेलाडीको दुखेसो थियो । ०७८ को लिगमा अञ्जन र दिनेश राजवंशीहरूको निरन्तरताका बावजुद मनाङले चौथो स्थानमा रहेर लिग टुंग्यायो ।

एन्फाले तोकेकै मितिमा भए शीर्ष डिभिजनको लिग सुरु हुन एक महिना पनि बाँकी छैन । तर, मनाङको तयारी टीठलाग्दो छ । परिपक्व स्टारद्वय अञ्जन र दिनेशले क्लब छाडेका छन् । नयाँ कुनै आशलाग्दो नाम जोडिएका छैनन् । कतै मनाङको अस्तित्व धरापमा पर्ने त होइन ?

टिम निर्माण र तयारीमा उदासीनता देखाएपछि मनाङको उद्देश्यलाई लिएर धेरैथरी टीकाटिप्पणी हुन थालेका छन् । टोली रेलिगेसनबाट बच्ने र मध्यतालिकामा लिग टुंगाउने उद्देश्यमा रहेको आँकलन पनि हुन थालेको छ ।

मनाङको विगत यति विघ्न टीठलाग्दो थिएन । अरू सबै टोलीको उद्देश्य रहने गर्थ्यो, मनाङलाई लिग च्याम्पियन हुनबाट रोक्ने । धेरैजसो क्लब त मनाङविरुद्धको खेलअघि कसरी कम गोल खाने भन्ने रणनीति बुन्न कञ्चट कनाइरहेका हुन्थे ।

मनाङ एकाएक किन यस्तो ?

क्लबका अध्यक्ष विजय घले भन्छन्, ‘बाहिर आँकलन जसले जे पनि गर्न सक्छ । तर, हामी कमजोर छैनौं । नेपाली खेलाडी सबै १९-२० नै हुन् । नतिजाका लागि विदेशी खेलाडीको भूमिका महत्त्वपूर्ण रहने गर्छ । हामी विदेशी खेलाडी राम्रो झिकाउने प्रयासमा छौं ।’

यसपालि मनाङमा दीप कार्की एकमात्र राष्ट्रिय खेलाडी हुन् । २०४३ सालमा ‘ए’ डिभिजन लिग खेल्न थालेयता मनाङको टोलीमा राष्ट्रिय खेलाडी सबैभन्दा कम भएको यसैपालि होला । राष्ट्रिय टोलीबाट खेलिसके पनि वर्तमान टोलीमा नरहेका आदित्य चौधरी, सुभाष गुरुङ, कमल थापा, रोशन रानामगर भने मनाङको टोलीमा छन् । रोशनले अझैसम्म राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका छैनन् । कमलले एक खेलमात्रै खेलेका छन् । सुभाष र आदित्य नियमित टोलीमा छैनन् ।

आसन्न लिगका लागि नेपालको यु-१९ र यु-२३ टोलीबाट खेलेका रोशन रानामगर, कमल थापा, जया गुरुङ, आशिष गुरुङ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, विशन गुरुङ, जियारत शेख, सुवास गुरुङ, नीराजन मल्ल, विजय श्रेष्ठलगायतका खेलाडी मनाङको भविष्य निर्धारण गर्ने कर्णधारहरू हुन् ।

युवा खेलाडीकै भरमा लिग जित्ने सपना पालेको मनाङले यसपालि लगभग २ करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ । ‘लिगमा २ करोड रुपैयाँ जति खर्च हुन्छ । गण्डकी वेस टोली बनाएका छौं । युवा खेलाडी र विदेशी खेलाडीको साथ लिगमा च्याम्पियन बन्न दाबेदारी प्रस्तुत गर्छाैं,’ घलेको दाबी छ ।

मनाङले पहिलो पटक २०४३ सालमा ‘ए’ डिभिजन लिग जितेको थियो । त्यसपछि २०४४ र २०४६ मा च्याम्पियन बन्दै मनाङले उपाधिमा ह्याट्रिक नै गर्यो । एक दशकपछि मनाङ ०५७ सालमा चौथो पटक लिग च्याम्पियन भयो । त्यसको तीन वर्षपछि फेरि मनाङ च्याम्पियन भयो । बीचमा लिग भएको थिएन । दुई वर्षपछि ०६२ सालमा मनाङ छैटौं पटक ट्रफी उचाल्न सफल भयो । सातौं पटक २०७० र आठौं पटक ०७५ सालमा मनाङ च्याम्पियन भएको थियो ।

चार दशकअघि विधिवत दर्ता भएको मनाङ अब भने आन्तरिक रूपमा एक-अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने अवस्थामा पुगेको छ । पूर्वपदाधिकारी र वर्तमान पदाधिकारीबीचको चिसो सम्बन्ध र हरेक दुई वर्षमा नेतृत्व परिवर्तन हुँदा मनाङ दीर्घकालीन रूपमा बलियो हुन सकेको छैन । त्यहाँमाथि व्यावसायिक रूपमा नयाँ क्लबको आगमन बढ्दै जाँदा मनाङ ट्रस्टले अब केही नयाँ सोच्नुपर्ने अवस्था सिर्जना भएको छ ।

‘साँच्चै अब फुटबल खेल्नमा मात्रै केही सोच्ने कि । खेलाडी र कर्मचारीलाई अझै व्यवस्थित बनाउने कि । खेलाडीको पारिश्रमिकमा कन्जुस्याइँ नगर्ने कि । यी र यस्ता थुप्रै विषयमा चुक्दा मनाङ गलत दिशामा छ । धेरै समर्थकको मन रोएको छ,’ मनाङको व्यवस्थापनलाई एक पूर्व खेलाडीको सुझाव छ ।

मनाङले शीर्ष डिभिजन लिगमा मात्रै हैन । मोसफलमा हुने प्रतियोगितामा समेत आफ्नो दबदवा कायम गरेको थियो । चर्चित आहा रारा पोखरा गोल्डकपमात्रै सर्वाधिक ६ पटक जितेको इतिहास मनाङसँग छ । टोलीले बुढासुब्बा गोल्डकप तीन पटक जित्दा आयोजना हुन छाडेका एनसेल कप, पोखरा कप, इटहरी गोल्डकप, खुकुरी कप एक÷एक पटक जितेको छ ।

सिक्किममा आयोजना हुने सिक्किम गभर्नर्स गोल्डकप, भुटानमा आयोजना भएको किङ्स कप र जिग्मी दोर्जे वाङ्चुङ मेमोरियल गोल्डकप एक/एक पटक जितेको छ । यसैले पनि मनाङलाई मन पराउने देश तथा विदेशमा थुप्रै व्यक्तित्व छन् ।

यही टोलीले नेपालको प्रतिनिधित्व गर्दै सन् १९८८ मा एसियन क्लब च्याम्पियनसिप छनोट चरण खेलेको छ । दुई पटक एएफसी प्रेसिडेन्ट्स कप खेलेको छ । सन् २००६ मा समूह चरण र २०१४ मा फाइनल चरण खेल्यो । यसैगरी सन् २०१९ मा एएफसी क्लब लाइसेन्स प्राप्त गर्दै एएफसी कपको समूह चरण खेल्यो । जुन प्रतियोगिता होम एन्ड अवे पद्दतिमा आयोजना भएको थियो ।

‘फेरि पनि मनाङले यस्तै प्रतियोगितामा सहभागिता हुन र नेपाली फुटबलमा बादशाह बन्न व्यवस्थापकीय कमजोरी सुधार गर्दै जानुपर्छ । खेलाडीलाई सन्तुष्ट गराउनैपर्छ । मनाङको टोलीमा पर्न खेलाडीबीच हुने प्रतिस्पर्धा फर्काउन सक्नुपर्छ । नत्र मनाङलाई अबका दिनमा ‘रेलिगेसन ब्याटल’ गर्ने अवस्थामा पुग्न कसैले रोक्न सक्दैन,’ ती खेलाडी भन्छन् ।  


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP