समूह ‘बी

कस्तो रहला अमेरिका–इरानको समूह ?

इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स

इङ्ल्यान्डविरुद्ध इरान, नोभेम्बर २१, खलिफा अन्तर्राष्ट्रिय रंगशाला, अल रायन
अमेरिकाविरुद्ध वेल्स, नोभेम्बर २१, अहमद बिन अली रंगशाला, अल रायन
वेल्सविरुद्ध इरान, नोभेम्बर २५, अहमद बिन अली रंगशाला, अल रायन
इङ्ल्यान्डविरुद्ध  अमेरिका, नोभेम्बर २५, अल बायट रंगशाला, अल खोर 
वेल्सविरुद्ध इङ्ल्यान्ड, नोभम्बर २९, अहमद बिन अली रंगशाला, अल रायन
इरानविरुद्ध अमेरिका, नोभेम्बर २९, अल थुमाना रंगशाला, दोहा

अमेरिका

अमेरिकाका लागि विश्वकपमा यो ११ औं सहभागिता हुनेछ । सन् २०२६ को विश्वकप आयोजक चुनिएको अमेरिका गत विश्वकपमा छनोट हुन सकेन । अमेरिका पहिलो संस्करणबाटै विश्वकपमा सहभागी हुँदै आएको टिम हो । उरुग्वेले आयोजना गरेको पहिलो विश्वकपमा अमेरिकाले सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । त्यसयता भने अमेरिकाका लागि सबैभन्दा ठूलो सफलता क्वाटरफाइनल हो । 

उत्तर तथा मध्य अमेरिकी छनोटको सिधा तेस्रो चरण खेलेको अमेरिका त्यहाँ तेस्रो रह्यो । आठ टिम सम्मिलित अन्तिम चरणको छनोटमा अमेरिकाभन्दा माथिको स्थान क्यानडा र मेक्सिकोले कब्जा गरे । सन् २०१८ को विश्वकप छनोटमा असफल हुनासाथ अमेरिकी टिमको पुनर्निर्माण सुरु भएको थियो । 

अधिकांश खेलाडी युवा र कम अनुभवी भएकाले अमेरिकाले छनोटमा कस्तो प्रदर्शन गर्ला भन्ने कौतूहल थियो । तर १४ खेलमध्ये ७ मा जित हासिल गरेपछि अमेरिकाको विश्वकप यात्रा पक्का भयो । 
अमेरिका डिसेम्बर २०१८ देखि ग्रेग बेरहाल्टरको प्रशिक्षणमा खेलिरहेको छ । सुरुवातमा बेरहाल्टरले रक्षात्मक शैलीमा जोड दिने गरेका थिए । गोललाई हतार गर्नुभन्दा गोल नखाने उनको रणनीति हुने गथ्र्यो । पछिल्लो समय भने बेरहाल्टरले

अमेरिकी टिमले खेल्ने शैली बदलेका छन् । अहिले अमेरिकी टिमको प्रारम्भिक रणनीति ‘प्रेसिङ’ हो । बल गुमाउना साथ ‘प्रेस’ गर्ने, विपक्षीलाई गल्ती गर्न बाध्य बनाउने ताकि आफूले गोलको मौका सिर्जना गर्न सकियोस् । 

बेरहाल्टरको अख्तियार गर्ने शैलीमा फुलब्याकको पनि विशेष भूमिका हुन्छ, त्यो पनि आक्रमणका बेला । एन्टोनी रोबिन्सन र सर्जिनो डेस्ट बेरहाल्टरका ‘अट्याकिङ फुलब्याक’ हुन् । यी दुईले अग्रपंक्तिका क्रिस्टियन पुलिसिच, जियो रेना र टिम वेलाई सहयोग गर्नेछन् ।  

अमेरिकी टिमको सबैभन्दा बलियो र कमजोर पक्ष अग्रपंक्ति हो । पुलिसिच, जियो रेना, टिम वे, ब्रेन्डन आरोन्सन जस्ता खेलाडी प्राविधिक रूपमा कुशल छन् । तर यी कोही पनि सेन्ट्रल फरवार्ड होइनन् । टिममा परेका जेसुस परेरा, जोस सार्जेन्ट जस्ता खेलाडी सेन्ट्रल फरवार्ड भए पनि उनीहरू पहिलो ११ मा भन्दा बेन्चमा सीमित हुने खेलाडी हुन् । 

सेन्ट्रल डिफेन्स अमेरिकी टिमको अर्को कमजोर पक्ष हो । अमेरिकी घरेलु लिग एमएलएस खेल्ने वाल्कर जिम्मरम्यान अमेरिकी टिमका मुख्य रक्षक हुन् । छनोटमा उनले मजबुत प्रदर्शन गरेका थिए । तर उनीसँग साझेदारी गरिरहेका केही खेलाडी घाइते भएपछि प्रशिक्षक बेरहाल्टर चिन्तित बनेका छन् ।

कतारमा चम्किन सक्ने सम्भावना भएका अमेरिकी खेलाडी थुपै्र छन् । तर त्यसमध्ये पुलिसिचको नाम सुरुमै लिन आवश्यक छ । उनीमाथि अमेरिकी टिम सबैभन्दा बढी भर पर्नेछ । अमेरिकाका लागि ५२ खेलमा २१ गोल गरेका उनी अग्रपंक्तिको जुनसुकै भूमिकामा देखिन सक्छन् । गोल गर्नबाहेक गोलमा अवसर सिर्जना गर्न माहिर पुलिसिच अमेरिकी टिमका भरपर्दा ‘फ्रिकिक टेकर’ हुन् । गोल नभइरहेको अवस्थामा ‘सेट पिस’ बाट गोल निकाल्ने विकल्पमा पुलिसिच खरो उत्रन सक्छन् ।

इङ्ल्यान्ड

विश्वकप छनोटअन्तर्गत युरोपको प्रतिस्पर्धामा सबैभन्दा बढी गोल गरेको टिम हो इङ्ल्यान्ड । छनोटको समूह ‘ए’ मा इङ्ल्यान्डले कुल ३९ गोल गरेको थियो । तर ती ३९ गोलमध्ये २४ चाहिँ इंग्ल्यान्डले सान मारिनो र एन्डोराविरुद्ध गरेको हो । 

समूह चरणका कमजोर टिमविरुद्ध गोलको वर्षा गरे पनि इङ्ल्यान्डले पोल्यान्डलाई २–१ ले हराउन निकै मिहिनेत गर्नुपरेको थियो । पोल्यान्डसँगको दोस्रो लेगमा बराबरीमा रोकिएको इङ्ल्यान्डलाई हंगेरीले पनि एउटा खेल जित्न दिएन । नोभेम्बरमा अल्बानिया र सान मारिनोलाई ठूलो गोल अन्तरले पराजित नगरेको भए इङ्ल्यान्ड समूह विजेता बन्न सक्ने स्थिति हुँदैनथ्यो । 

प्रशिक्षक गारेथ साउथगेट बारम्बार इङ्ल्यान्डको खेल शैलीलाई लिएर आलोचित भइरहन्छन् । आलोचक के भन्छन् भने साउथगेट अनावश्यक रूपमा रक्षात्मक खेलाउँछन् । इङ्लिस टिममा भएका आक्रामक खेलाडीको भरपूर उपयोग गर्दैनन् वा चाहँदैनन् । 

हुन त साउथगेट खेलशैलीभन्दा नतिजामा ध्यान दिने प्रशिक्षक हुन् । कुन शैलीमा खेल्दा आफ्नो पक्षमा नतिजा निकाल्न सजिलो हुन्छ, त्यही शैली अपनाउँछन् । फेरि इङ्लिस टिममा प्रतिभावान् खेलाडी भएकाले साउथगेटले मन लागेका बेला शैली परिवर्तन गर्न पाइरहन्छन् । नेसन्स लिगमा इङ्ल्यान्डले ‘ब्याक थ्री’ खेल्यो । कतारमा साउथगेट ४–३–३ संरचनामा फर्कन सक्छन् । 

इङ्ल्यान्डको आक्रमण सम्हाल्ने मुख्य खेलाडी अरू कोही नभएर ह्यारी केन नै हुनेछन् । राष्ट्रिय टिमका लागि उनले ५३ गोल गरिसकेका छन् । अब तीन गोल थपे उनी वायन रुनीलाई उछिन्दै इङ्ल्यान्डको उच्च गोलकर्ता बन्नेछन् । यति हुँदाहुँदै उनको लयलाई लिएर चिन्ता छ । उनले नोभेम्बर २०२१ यता पेनाल्टीमा बाहेक गोल गर्न सकेका छैनन् । यद्यपि विश्वकपमा उनलाई पहिलो ११ बाट प्रतिस्थापन गर्नसक्ने अर्का खेलाडी छैनन् ।  

बरू प्रतिस्पर्धा अग्रपंक्तिका बाँकी दुई वा तीन स्थानका लागि हुनेछ । यो प्रतिस्पर्धामा रहिम स्टर्लिङ, फिल फोडेन, बुकायो साका, ज्याक ग्रिलिस र मेसन माउन्ट हुनेछन् । केनसँगै यी पाँचलाई इङ्लिस टिममा पहिलो श्रेणीका फरवार्ड मानिएको छ । मार्कस रासफोर्ड, जेम्स म्याडिसन, क्यालुम विल्सन लगायत दोस्रो श्रेणीमा रहनेछन् । 

अग्रपंक्तिमा इङ्ल्यान्डसँग जत्तिको विकल्प कमै टिमसँग छ । यी खेलाडी एकभन्दा बढी पोजिसनमा खेल्ने सामथ्र्य राख्छन् । उसो त इङ्ल्यान्डको मिडफिल्ड पनि कम बलियो छैन । उमेरमा युवा तर खेलमा पाकोपन देखाइरहेका ज्युड बेलिङहमले कतारमा सबैलाई छक्क पार्नेगरी खेल्छन् भन्ने विश्वास समर्थकको छ । 

तमाम बलिया पक्षका बावजुद इंग्ल्यान्ड एउटा विभागमा भने कमजोर छ । त्यो हो रक्षापंक्ति । विशेषगरी ह्यारी मगायरको लय खस्किएका कारण यस्तो चिन्ता जाहेर भइरहेको हो । विश्वकप २०१८ र युरो २०२० मा उत्कृष्ट प्रदर्शन गरेका मगायर पछिल्लो समय उही लयमा छैनन् । इङ्ल्यान्डका मुख्य रक्षक मानिँदै आएको उनी आफ्नै क्लबमा तेस्रो रोजाइको रक्षक बनेका छन् । 

इङलिस रक्षापंक्तिको अर्को कमजोरी बल नियन्त्रणमा राखेर खेल्न नसक्नु हो । आधुनिक फुटबलमा बलसँग सहज मान्ने रक्षकको भूमिका खोजिन्छ । तर इङ्ल्यान्डसँग त्यस्ता रक्षकको कमी छ । आक्रमण रक्षापंक्तिबाट सुरु हुन्छ भन्ने नयाँ युक्ति इङ्ल्यान्डको हकमा सत्य साबित हुन सकिरहेको छैन । यस्तोमा ‘डिप मिडफिल्ड’ मा खेल्ने बेलिङहममाथि भार बढ्नेछ । किनभने रक्षकहरूलाई सहयोग गर्न उनी बारम्बार रक्षापंक्तिमा झरिरहनुपर्ने हुनसक्छ । जसले गर्दा समग्र टिमको सन्तुलन बिग्रन सक्छ । 

फेरि यही बेला फुलब्याक केयल वाल्कर पूर्ण रूपमा फिट हुन संघर्षरत छन् । इङ्लयन्डले यसअघि नै अर्का फुलब्याक रिस जेम्सलाई गुमाइसकेको छ । मिडफिल्डर केल्भिन फिलिप्स पनि भर्खरै चोटमुक्त भएका हुन् । उनी पहिलो खेलका लागि तयार हुनेमै शंका छ । 

नेसन्स लिगको लय अर्को समस्या हो । नेसन्स लिगको समूह चरणमा इङ्ल्यान्डले ६ खेल खेल्यो । तर कुनैमा जित निकाल्न सकेन । हंगेरी, इटाली र जर्मनीसम्मिलित समूहमा रहेको इङ्ल्यान्ड नेसन्स लिगको दोस्रो श्रेणीमा झरेको छ । नेसन्स लिगकै जस्तो लय विश्वकपमा देखाए इङ्ल्यान्डका लागि कतार बसाइ सुखद हुनेछैन ।

वेल्स 

वेल्स सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनोट भएको हो । युरोपको छनोटमा समूह उपविजेता बनेको वेल्सले निर्णायक प्लेअफमा युक्रेनलाई पन्छाएको थियो । यसरी कठिन छनोट यात्रा तय गरेर कतारको टिकट सुरक्षित गरेको वेल्सले आफू अब्बल टिम रहेको प्रमाणित गरेको छ । 

प्रशिक्षक रोबर्ट पेजको मुख्य रणनीति हो काउन्टर अट्याक । वेल्सले विश्वकप छनोटमा ४५ प्रतिशत र नेसन्स लिगमा ४० प्रतिशत बल पोसेन राख्न सकेको थियो । वेल्सले विश्वकप छनोटमा बेल्जियम र चेक गणतन्त्र जस्ता बलिया टिमसँग भिड्नुप¥यो । नेसन्स लिगमा चाहिँ नेदरल्यान्ड्स, पोल्यान्डसँगै बेल्जियम पनि । नेसन्स लिगमा वेल्सले ती तीन ठूला टिमलाई हराउन सकेन । त्यहाँ उसले काउन्टर रणनीति लिएको थियो । 

रक्षापंक्ति कसिलो बनाएपछि काउन्टर अट्याक गर्न सजिलो हुन्छ । आधुनिक फुटबलमा यो सामान्य तथ्य हो । वेल्स यही तथ्य पछ्याइरहेको छ । यसो गर्न वेल्स किन सक्षम छ भने ऊसँग उच्चस्तरका गोलरक्षक वायन हेनेसी र फरवार्डद्वय डेन जेम्स र गारेथ बेल छन् । 

वेल्सको सबैभन्दा बलियो पक्ष ‘टिम स्पिरिट’ हो । बेल र आरोन राम्से जस्ता ठूला क्लब र लिगको अनुभव भएका खेलाडी कम भएकाले वेल्सको ध्यान एकबद्ध भएर खेल्नेतर्फ छ । वेल्स कति इख लिएर खेल्छ भनेर युरो २०१६ मै प्रमाणित भइसक्यो । आफूभन्दा बलिया टिमलाई पन्छाएर युरोको सेमिफाइनल पुगेको वेल्सले फेरि एकपल्ट त्यस्तै जादु देखाउन सक्छ । 

यस्तो जादु वेल्सले सुरुमै आफ्नो पुरानो प्रतिद्वन्द्वी इङ्ल्यान्डसँगको खेलमा देखाउनुपर्नेछ । यी दुई टिम युरो २०१६ को समूह चरणमा भिडेका थिए । त्यतिबेला वेल्सलाई पराजित गर्न  इङल्यान्डले अतिरिक्त समयमा गोल गरेको थियो । त्यति हुँदा पनि वेल्सले समूह विजेता बन्ने दौडमा इङल्यान्डलाई पछि पारेको थियो । 

वेल्ससँग इङलिस टिममा जस्तो प्रत्येक पोजिसनमा एकभन्दा बढी बलिया विकल्प छैनन् । बेल वा राम्से घाइते भए वेल्सको समग्र क्षमतामा ठूलो क्षय हुनेछ । यसै पनि अनुभवी मिडफिल्डर जो एलन पूर्ण रूपमा फिट छैनन् । वेल्समा युवा खेलाडीको उदय नभइरहेको होइन । २२ वर्षीय इथान एम्पाडुले नै ३७ खेल खेलिसके । तर यी युवा खेलाडीको बलमा वेल्सले विश्वकपमा कमाल गर्ने सम्भावना छैन । यस्तो सम्भावना जीवित राख्न बेलजस्ता खेलाडी चोटबाट बच्न आवश्यक हुन्छ । 

वेल्सको अर्को कमजोर पक्ष सेन्ट्रल फरवार्डको कमी हो । विश्वकप छनोटमा विंगर बेल वेल्सका उच्च गोलकर्ता बन्दा सेन्ट्रल फरवार्डको भूमिकामा रहेका काइफेर मुरले जम्मा एक गोल गरेका थिए । यस्तोमा विश्वकपमा पनि वेल्स गोलका लागि ३३ वर्षीय बेल र जेम्स जस्ता युवा विंगरमै भर पर्नेछ । १०८ खेलमा ४० गोल गरिसकेका बेल आफ्नो टिमलाई अप्ठ्यारो स्थितिबाट बाहिर निकाल्न माहिर छन् । विश्वकपमा उनले यही बानी दोहो¥याउन सक्छन् वा सक्दैनन्, वेल्सको विश्वकप यात्रा यसमै निर्भर रहनेछ ।

इरान

इरानले विश्वकप डेब्यु सन् १९७८ मै गरेको हो । सन् २०१० र २०१४ मा लगातार छनोट भएको इरानका लागि यो छैटौं सहभागिता हुनेछ । आफ्नै क्षेत्रमा हुन लागेको विश्वकपमा छनोट हुन इरानले कुल १८ खेल खेल्यो । 

सेप्टेम्बर २०१९ मा सुरु एसियाली छनोट दौरान इरानले १४ खेल जित्यो भने तीन खेलमा हार बेहो¥यो । ती तीन हारमध्ये दुई हार दोस्रो चरणमा इराक र बहराइनसँग थियो । अन्ततः इरान दोस्रो चरणमा समूह विजेता बन्यो । तेस्रो चरणमा इरानको प्रदर्शन झनै सुदृढ बन्यो । १० खेलमध्ये ८ मा जित दर्ता ग¥यो । समूह विजेता विजेता बनेर विश्वकपमा सिधा छनोट हुन दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) लाई पछि पा¥यो ।

इरानलाई विश्वकपमा छनोट क्रोएसियाका डाग्रन स्कोचिचले गराएका हुन् । सन् २०१३ देखि इरानी लिगमा विभिन्न क्लबका प्रशिक्षक बनेका स्कोचिचलाई फेबु्रअरी, २०२० मा इरानी राष्ट्रिय टिमको जिम्मेवारी दिइएको थियो । उनले मार्क विल्मोटलाई प्रतिस्थापन गरेका थिए । इरान विश्वकप छनोटमा इराक र बहराइनसँग हारेपछि विल्मोट बर्खास्तगीमा परेका थिए । 

तर, विश्वकप सुरु हुनुअघि पाँच महिनाअघि स्कोचिचलाई हटाइयो । सन् २०१४ र २०१८ को विश्वकपमा इरानलाई छनोट गराउने कार्लोस क्विरेजलाइ फिर्ता ल्याइयो । यसअघि पोर्चुगलका क्विरेजले जनवरी २०१९ मा आफ्नो आठ वर्षको इरान बसाइ अन्त्य गरेका थिए । 

क्विरेज ४–३–३ संरचना मन पराउँछन् । रियल म्याड्रिडका प्रशिक्षक र म्यानचेस्टर युनाइटेडका सहायक प्रशिक्षकको अनुभव बटुलेका क्विरेज बलियो रक्षापंक्ति र मिहिनेती मिडफिल्ड निर्माण गर्न रुचाउँछन् । प्राविधिक रूपमा निपुण स्ट्राइकरलाई अग्रपंक्तिको जिम्मा लगाउँदै गोल गर्ने क्षमताका विंगरलाई टिममा स्थान दिने गर्छन् क्विरेज । 

पहिलो कार्यकालमा क्विरेजले इरानी रक्षापंक्तिलाई असाध्यै बलियो बनाएका थिए । यसको उदाहरण एएफसी एसियन कप २०१९ मा इरानले गरेको प्रदर्शन हो । त्यहाँ सुरुवाती ५ खेलमा इरानले एक गोल पनि खाएन । त्यही एसियन कपमा इरान सेमिफाइनलबाट बाहिरिएपछि क्विरेज दक्षिणी अमेरिकी टिम कोलम्बियाको प्रशिक्षक बन्न गएका थिए । 

रुस विश्वकपमा पनि इरानी रक्षापंक्तिको तारिफ भएको थियो । समूह ‘बी’ मा रहेको इरानले स्पेन र पोर्चुगलसँग जम्मा २ गोलमात्र खाएको थियो । कतार विश्वकपमा क्विरेजको टिमले फेरि एकपटक जब्बर प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । ह्यारी केन वा क्रिस्टियन पुलिसिचका लागि इरानी रक्षापंक्ति तोड्न सजिलो हुने छैन ।

इरानी खेलाडी ९० मिनेटसम्मै रक्षात्मक खेल्न सक्छन् । परिस्थितिअनुसार फरक–फरक रणनीतिमा आफूलाई ढाल्न सक्छन् । यी इरानका बलिया पक्ष हुन् । तर, इरानी खेलाडी मानसिक रूपमा बलिया छैनन्, निर्णायक मोडमा उनीहरू हार मान्छन् । इरानमाथि यस्ता आरोप लाग्ने गरेको छ । 

सन् २०१४ को विश्वकपको समूह चरणमा इरानले नाइजेरियालाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा अर्जेन्टिनालाई ९० मिनेटमा रोक्यो । अतिरिक्त समयमा एक गोल खाँदै पराजित भयो । तेस्रो खेलमा भने बोस्नियासँग ३–० ले पराजित भयो । 

एसियन कपमा पनि इरानले निर्णायक समयमा पुगेर हार मानेको थियो । क्वाटरफाइनलसम्म एकै गोल नखाएको इरानले सेमिफाइनलमा जापानसँग ३ गोल खाएको थियो । विश्वकप २०१८ मा पोर्चुगलविरुद्धको १–१ बराबरी जितमा परिणत गरेको इरान नकआउट चरणमा पुग्ने थियो । 

तीन फरवार्डबीचको साझेदारी इरानी टिमको सबैभन्दा सबल पक्ष हो । एक दशक हुनै लाग्यो अलिरेजा जहानबक्स, सरदार अजमोन र मेहदी तारेमीले इरानी टिमको अग्रपंक्ति सम्हाल्न थालेको । यी सबै युरोपमा क्लब फुटबल खेल्छन् । यसपल्ट पनि इरान यी तीन फरवार्डमाथि अत्यधिक निर्भर हुनेछ । 

वर्तमान लयका आधारमा तारेमी सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । पोर्चुगलको एएफसी पोर्टोका लागि तारेमीले १६ खेलमा १८ गोल गरिसकेका छन् । यी ३० वर्षीय स्ट्राइकरले पछिल्ला तीन सिजनयता लगातार २० वा त्योभन्दा बढी गोल गर्दै आएका छन् ।