काठमाडौं । जापानमा अर्को वर्ष हुने २०औं एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता भएका छन्।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार विज्ञप्तिमार्फत १९५ महिला र २३९ पुरुष खेलाडी प्रतियोगिताका लागि दर्ता गरिएको जानकारी दियो ।
एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ । सेप्टेम्बर १६ मंगलबारसम्म सहभागी देशले खेल र त्यसमा सहभागी हुने खेलाडीको संख्या दर्ता गर्नु पर्ने अन्तिम मिति थियो ।
यसअघि ३० खेल दर्ता भएकोमा त्यसमा तेक्वान्दो र फुटबल पनि थपेर ३२ खेलका खेलाडी संख्या पठाइएको हो । खेल संघले पठाएको खेलाडी संख्याका आधारमा एनओसीले खेलाडीको संख्यासहित खेल दर्ता गरेको हो ।
एनओसीले यसका लागि सुरुमा युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्मा पत्राचार गरे पनि तेक्वान्दो र फुटबलले खेलाडीको नाम दिएका थिएनन् । यसैगरी नेपाल एथलेटिक्स संघले पनि सूची नपठाएकाले एनओसीले नै म्याराथनमा समान एक पुरुष र महिला खेलाडी संख्या पठाएको छ ।
नेपालबाट २०औं एसियाडका दर्ता भएका खेल
एथ्लेटिक्स, आर्चरी, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, ब्रेकिङ एण्ड डान्स स्पोर्टस, बेसबल तथा सफ्टबल, र्याफ्टिङ एण्ड कनोइङ, कुराँश, क्रिकेट, साइक्लिङ, इ स्पोर्टस, गल्फ, हक्की, जुडो, कबड्डी, कराँते, मोडर्न पेन्ट्राथलन, रग्बी, स्केटबोर्ड तथा स्केटिङ, स्पोर्ट क्लाइम्बिङ, स्क्वास, सफ्ट टेनिस, पौडी, टेनिस, टेबल टेनिस, भलिबल, भारोत्तोलन, कुस्ती, उसु , तेक्वान्दो र फुटबल।