काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्टसबब अवार्ड नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित सम्मान कार्यक्रम हो । देशभित्र हुने इन्डोर इभेन्टमा यो अवार्डको तामझाम अरू सबैभन्दा विशेष हुने गर्छ ।
हरेक वर्ष नियमित हुने अवार्डका २१ संस्करण सम्पन्न भइसकेका छन् । नेपालको खेलकुदमा यति लामो समयसम्म नियमित रूपमा हुने कार्यक्रमको सूची खासै लामो छैन । अनियमितताको भूमरीमा अल्मलिएको नेपाली खेलकुदमा पोखरामा सहारा क्लबले गर्ने आहा रारा गोल्डकपपछि सबैभन्दा लामो समयसम्म नियमित रूपमा भइरहेको यही अवार्ड हो ।
नेपालको खेलकुदमा यो अवार्डको विशेषता यतिमा मात्र सीमित छैन । नेपाली खेलकुदलाई योगदान गर्ने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई विभिन्न १० विधामा एकथलोमा सम्मान गरिने यो अवार्डको आयोजक खेल पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च हो । पत्रकारहरूले आयोजना गर्ने भएपछि अवार्डको शुद्धता यसको सबैभन्दा मुख्य आकर्षण हो । यही कारण त हो, देशका लागि पसिना बगाउँदै राष्ट्रिय गौरवका गाथा रच्ने खेलाडी तथा खेलकर्मीहरू पूरा वर्षभर नै यो अवार्डको व्यग्र प्रतीक्षामा हुन्छन् ।
अवार्डको दायरा फराकिलो पार्दै जाने क्रममा २०७६ सालमा दुई नयाँ विधा एसियाली खेलकुद पत्रकार र टिम अफ दी इयर समावेश गरिए ।
२०५४ सालमा पाँच विधाका साथ सुरु भए पनि केही वर्षको विश्रामपछि २०६१ सालमा अवार्ड पुनः आयोजना हुँदा दुई विधामात्र समावेश थिए । प्रत्येक वर्ष अवार्ड थप भव्य बनाउने क्रममा केही नयाँ गरिँदै आएको अवार्ड यतिबेलासम्म आइपुग्दा नियमित रूपमै १० विधामा विस्तारित भइसकेको छ । समयकालमा हासिल भएका उपलब्धिहरूका आधारमा थुप्रै पटक अवार्डमा नियमित विधामा त्यस्ता विशेष उपलब्धिमाथि पनि सम्बोधन गरिएका छन् । जसले अवार्डको सुन्दरतामा सुगन्ध थप्ने काम गरेका छन् । अंग्रेजी भाषामा ‘फेदर अन क्याप’ भनेजस्तै ।
अवार्डको दायरा फराकिलो पार्दै जाने क्रममा २०७६ सालमा दुई नयाँ विधा एसियाली खेलकुद पत्रकार र टिम अफ दी इयर समावेश गरिए । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया)ले छनोट गर्ने एसियाली खेल पत्रकार विधाले त्यसयता प्रत्येक वर्ष निरन्तरता पाइरहेको छ । टिम अफ दी इयर भने उपलब्धिका आधारमा प्रदान गरिन्छ । जसका कारण यो विधाबाट यसबीचमा नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवका साथ प्रस्तुत गर्ने चार टिम सम्मानित भएका छन् ।
एसियाली खेलुकद पत्रकार विधा
२०७६ सालमा पहिलो पटक अवार्डमा यो विधा समावेश गरिँदा एआइपिएस एसियाका महासचिव अम्जद अजिज मलिक सम्मानित भए । झन्डै पाँच दशकदेखि खेल पत्रकारितामा संलग्न पाकिस्तानी पत्रकार मलिक हक्कीका अन्तर्राष्ट्रिय कमेन्टेटर पनि हुन् । उनले खेलकुदका विभिन्न विषयमा दर्जनभन्दा बढी पुस्तक लेखेका छन् ।
लगत्तैको वर्ष २०७७ मा एआइपिएस एसियाका उपाध्यक्ष मलेसियाका अहमद हवारी इसाले पाएको अवार्ड २०७८ सालमा एआइपिएस एसियाका पूर्वअध्यक्ष कुवेती पत्रकार सत्ताम अल सालेहलाई प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपिएस)का उपाध्यक्ष कतारी पत्रकार मोहम्मद हिजीलाई २०७९ सालमा दिइएको पुरस्कारबाट हङकङका भेट्रान पत्रकार रेमन्ड चु २०८० सालमा सम्मानित भएका छन् । उनको नेतृत्वमा हङकङमा लामो समयदेखि विश्वस्तरीय वाइएसआर (युवा पत्रकारलाई दिइने खेल पत्रकारिता तालिम) सञ्चालन भइरहको छ । जहाँ नेपालबाट चार युवा पत्रकारले तालिम लिएका छन् भने तीन जनाले विज्ञका रूपमा तालिम गराएका छन् ।
यसैगरी एआइपिएस एसियाका अध्यक्ष दक्षिण कोरियाली पत्रकार ही डोङ जोङ गत वर्षको संस्करणमा एसियाली खेलकुद पत्रकारको पुरस्कारबाट सम्मानित भएका थिए ।
टिम अफ दी इयर

कुनै एक व्यक्तिभन्दा पनि पूरा टिमको संगठित प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा गर्वका साथ फहराउने समूहले पाउने टिम अफ दी इयर विधाको पहिलो संस्करणमा पुरुष प्याराग्लाइडिङ टिम सम्मानित भयो । २०७५ सालमा इन्डोनेसियामा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेवापत लगत्तै वर्ष प्याराग्लाइडिङ टिमले नेपाली खेलकुदको सबैभन्दा प्रतिष्ठित अवार्ड कार्यक्रममा टिम अफ दी इयरको सम्मान प्राप्त गरेको थियो ।
२०७८ सालमा पुरुष फुटबल टिम तथा गत वर्ष महिला कबड्डी टिमले यो अवार्ड पाएको थियो । २०७९ र २०८० सालमा टिम विशेषको उल्लेख्य उपलब्धि नभएका कारण एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा यो विधा समावेश गरिएको थिएन ।
‘स्पेसल मेन्सन’
नेपाली खेलकुदले कुनै खेलाडी विशेषबाट अनन्तकालसम्म सम्झिइने खालका केही स्मरणीय प्रदर्शनमा रमाउने मौका पाएको छ । पूरा देशले विशेष खालको गर्व गर्ने र त्यही उपलब्धिमा लामो समयसम्म रमाउन सक्ने त्यस्ता प्रदर्शनहरू ‘स्पेसल मेन्सन’का रूपमा अवार्डमा समेटिएका छन् ।
‘साहसिक अवार्ड’
२०६६ सालमा बंगलादेशको ढाकामा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागिता जनाउन गएकी जुडो खेलाडी देवु थापा होटलको लिफ्ट दुर्घटनामा परेर नराम्ररी घाइते भइन । तर विभिन्न ठाउँमा भाँचिएको/मर्किएको शरीर लिएर उनी प्लेटफर्ममा देशका लागि साहसका साथ प्रस्तुत भइन र पदक जितिन् । लगत्तै वर्ष काठमाडौंमा देवुको त्यो साहस बिर्सिएर अवार्ड कसरी सम्पन्न हुन सक्थ्यो ? अनि स्वयं देवुपछि पूरा नेपाली खेलकुदलाई बर्ड आई भ्यूबाट हेर्ने पत्रकारले जति यो साहसको महत्व कस्ले बुझ्न सक्थ्यो र ? ढाकामा लिफ्ट दुर्घटनादेखि देवुको त्यो बहादुरीपूर्ण प्रतिस्पर्धासम्म प्रत्यक्ष नियालेका खेल पत्रकारले त्यो पूरा शृंखलाको सम्मानस्वरुप अवार्डमा सप्राइज प्याकेजका रूपमा एउटा विधा थप गरे, ‘साहसिक अवार्ड’ । र, कुनै विवाद थिएन, त्यसको एकमात्र हकदार थिइन, देवु थापा ।
‘जादुमयी प्रदर्शन’
त्यही वर्ष महिला क्रिकेटको अन्तर्राष्ट्रिय मञ्चमा एकजना नेपाली खेलाडीबाट यस्तो जादु भयो, जसले असम्भवझै देखिएको अवस्थामा नेपालको जित पक्का गर्यो ।
सन् २००९ को जुलाई ४ मा मलेसियाको पान्डामरनस्थित सेलाङ्गर टर्फ क्लबको मैदानमा नेपाली महिला टिम एसिसी महिला ट्वान्टी–२० च्याम्पियनसिपअन्तर्गत सिंगापुरसँग प्रतिस्पर्धा गर्दै थियो । सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन बनाएको थियो । जवाफमा सिंगापुरले १९ ओभरबाट ५ विकेट क्षतिमा ७८ रन बनाइसकेको थियो ।
पाँच विकेट सुरक्षित रहको सिंगापुरलाई जितनिम्ति अन्तिम ६ बलमा २ रन भए पर्याप्त हुन्थ्यो । अन्तिम ओभरमा नेपालको बलिङ आक्रमणको जिम्मा पाइन रुबिना क्षेत्रीले । अत्यन्तै तनावपूर्ण अवस्थामा बलिङ आक्रमणमा आएकी रुबिनाले पहिलो बल डटबाट सुरु गरिन । त्यसपछि लगातार तीन बलमा विकेट लिँदै ह्याट्रिक गरिन् । रुबिना पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दै थिइन ।
सुरुका ४ बलले नेपालको जित आधार बनाएको थियो । तर अझै पर्याप्त चाहिँ भइसकेको थिएन । दुई बल बाँकी नै थियो । पाँचौं बल वाइड गयो । खेल टाइ भयो । बल चाहिँ दुई नै बाँकी रहयो । तर त्यसपछि रुबिनाले लगातार २ विकेट लिँदै ३–०–१२–५ को व्यक्तिगत आँकडासहित बलआउटसम्म खेल पुर्याइन । जहाँ नेपालले जित हासिल गर्यो । अनि लगत्तै वर्ष काठमाडौंमा सम्पन्न एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा उनको त्यो अपत्यारिलो प्रदर्शन ‘जादुमयी प्रदर्शन’बाट सम्मानित भयो ।
पर्फमेन्स अफ दी इयर
कोभिड-१९ को विश्वव्यापी महामारीका कारण २०७६-०७७ सालमा पूरा विश्व आतंकित थियो । भाइरस संक्रमणको भयले मानिससँग मानिस भाग्नुपर्ने अवस्थामा पूरा विश्व नै कोठामा थुनिएको थियो । विश्व नै लकडाउनमा थियो । सबैखाले सामाजिक गतिविधि वर्जित हुँदा अनिश्चितताको भय, आफैं वा आफ्नाहरूले जीवन गुमाउने चिन्तामात्र थियो । मानव जमघटहरू नै हुन नपाइरहेका बेला खेलकुद त कल्पनाभन्दा बाहिरको अवस्था थियो ।
तर त्यही वर्ष समय केही अनुकूल भएको मौका छोपेर पुसको अन्त्यमा बंगलादेशमा एउटा एथलेटिक्स प्रतियोगिता भयो, बंगबन्धु शेख मुजिब ढाका म्याराथन । बंगलादेशी सेनाको आयोजनामा भएको प्रतियोगितामा मोरक्को, केन्या, इथियोपिया, नेपाल, भारत र बंगलादेश लगायत थुप्रै देशका २ सय खेलाडीको सहभागिता थियो । जहाँ नेपालका तर्फबाट महिला म्याराथनमा पुष्पा भण्डारीले सहभागिता जनाएकी थिइन । कोभिडको उकुसमुकुसलाई चुनौती दिँदै ढाका पुगेकी पुष्पाले २ घण्टा ४८ मिनेट २ सेकेन्डको टाइमिङका साथ नयाँ राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण पदक जितिन ।
मञ्चले २०७७ सालको अवार्ड पनि कोभिड केही कम भएपछि वर्षको अन्त्यतिर फागुनमा गरेको थियो । अघिल्लो वर्ष खेलकुदका कुनै पनि गतिविधि नभएका कारण मञ्चले उक्त अवार्ड ‘दशक अवार्ड’का रूपमा आयोजना गरेको थियो । जहाँ अघिल्लो दशकभर गरिएको प्रदर्शन र नतिजाका आधारमा उत्कृष्ट खेलाडी तथा खेलकर्मी पुरस्कृत हुँदा ‘स्पेसल मेन्सन’का रूपमा पुष्पाको उपलब्धिलाई पर्फमेन्स अफ दी इयरबाट सम्मानित गरिएको थियो ।