काठमाडौं । इण्डियन प्रिमियर लिग(आइपिएल) २०२६ मा जितका साथ लिगको सुरुवात गर्ने लक्ष्यका साथ दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुदैछ ।
लिगको पाँचौ खेलमा दिल्ली र लखनउबीच खेल हुन लागेको हो । लखनउको घरेलु मैदान एकना क्रिकेट रंगशालामा हुने खेल बेलुका ७ः४५ बजे सुरु हुदैछ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा रहेका दुवै टोली जितका साथ लिगको यस सिजन सुरुवात गर्ने लक्ष्यमा छन् ।
लखनउ रिषभ पन्तको कप्तानीमा मैदान उत्रदैछ । लखनउको टोलीमा एडेन माकरम, निकोलस पुरन तथा मिचेल मार्श जस्ता विदेशी खेलाडी रहेका छन् । आयुष बदोनी, अब्दुल समाद, आभेस खान जस्ता भारतीय खेलाडी रहेका छन् ।
अक्षर पटेलको कप्तानीमा मैदान उत्रने दिल्लीको टिममा पृथ्वी शा, करुन नायर, अभिषेक पोरेल तथा नितिश राना जस्ता भारतीय खेलाडी छन् । टोलीमा ट्रिस्टन स्टब्स, डेबिड मिलर, दुस्मन्था चमिरा जस्ता विदेशी खेलाडी रहेका छन् ।
बुधबारको खेल पछि लिगमा सहभागी रहने सबै १० टोलीको कम्तिमा १ खेल पूरा हुनेछ । आइपिएलको इतिहासमा यि दुई टोली हालसम्म ७ पटक आमने सामने भएका छन् । जसमा दिल्ली ४ पटक विजयी हुँदा ३ खेल लखनउले आफ्नो पक्षमा पारेको छ ।
आइपिएलमा कुल १० टोलीको सहभागीता छ । सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ‘ए’ मा चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् । त्यस्तै समूह ‘बी’मा मुम्बई इण्डियन्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किंग्स छन् ।
यस अनुसार आफ्नो समूहका सबै टोलीले सबैसँग समान दुई खेल खेल्नेछन् । अर्को समूहका समानान्तर रुपमा आफ्नो स्थानमा रहने एक टोलीसँग भने दुई पटक तथा अन्य चार टिमसँग भने समान एक खेल खेल्नेछ ।
यसरी हरेक टोलीले लिग चरणमा १४ खेल खेल्नेछन् । लिगका १४ मध्ये ७ खेल घरेलु मैदान तथा ७ खेल विपक्षीको मैदानमा गएर खेल्नेछ । लिग चरणको खेल सकिएपछि शीर्ष ४ टोलीले प्लेअफमा स्थान बनाउछन् । लिग चरणमा शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । पहिलो क्वालिफायरको विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले फाइनल प्रवेशका लागि अर्को खेल पाउँने छ ।
लिग चरणमा तेस्रो र चौथो स्थानमा रहने टोलीले इलिमिनेटर खेल खेल्दा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली भने चौथो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिनेछ । पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताका बीचमा दोस्रो क्वालिफायर खेल हुनेछ ।
दोस्रो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउदा पराजित हुने टोली भने तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिनेछ । पहिलो र दोस्रो क्वाफायरका विजेताका बीचमा उपाधीका लागि फाइनल खेल हुनेछ ।
आइपिएल २०२६ को फाइनल खेल गत संस्करणको च्याम्पियन बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा ३१ मे मा आयोजना हुदैछ ।
