काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली तथा विभागीय टोली नेपाल एपिएफ क्लबका कप्तान रोहित पौडेलको अहिले भइरहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा खराब लय जारी रहेको छ ।
अहिले भइरहेको लुम्बिनी प्रदेशसँगको खेलमा शुन्य रनमा आउट भएका रोहितको प्रतियोगितामा खराब लय जारी रहेको हो । कप्तान पौडेलले रनको खाता खोल्न नसकेको खेलमा एपिएफले जम्मा १२४ रन मात्र बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ३९.४ ओभरमा १२४ रन मात्र बनायो ।
एपिएफका लागि अभिषेक गौतमले सर्वाधिक २८ रन बनाए । ओपनर दिपक बोहोरा २०, आसिफ शेख र लोकेश बम समान १५ तथा कमलसिंह ऐरी ११ रनमा आउट भए ।
कप्तान रोहितले भइरहेको पिएम कपका हालसम्म खेलेका ५ इनिङमा ४९ रन बनाएका छन् । उनले बागमती प्रदेशसँगको पहिलो खेलमा ९, पुलिसविरुद्धको खेलमा ११, आर्मीसँगको खेलमा २६ तथा गण्डकीसँगको खेलमा ३ मात्र बनाएका छन् ।
भइरहेको खेलमा सन्तोष कार्कीको बलमा रोहित आउट भएका हुन् । यस खेलमा रोहितले ७ बल खेल्दै रनको खाता खोल्न सकेनन् । लुम्बिनीका लागि अजय चौहानले ४, सन्तोष यादवले ३, निर्मल गुरुङले २ तथा सन्देश थापाले १ विकेट लिए ।
