काठमाडौं । नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १९ रनको ऐतिहासिक जित दर्ता गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक आइसिसीकाे पूर्ण सदस्यलाई पराजित गरेको हो ।
जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल सोमबार हुनेछ ।
शनिबार युएईको सारजहाँ क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १२९ रनमात्रै बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि नवीन बिदैसीले २२, आमिर जाङ्गु र फाबियन एलनले समान १९, कप्तान अकिल होसेनले १८, केसी कार्टीले १६ र अकिम अगस्टेले १५ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले दुई तथा दीपेन्द्रसिंह ऐरी, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३८, कुशल मल्लले ३०, गुल्सनकुमार झाले २२ र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।
तेस्रो विकेटका लागि रोहित र कुशलबीच ५८ रनको साझेदारी भएको थियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले चार, नवीन बिदैसीले तीन र कप्तान अकिल होसेनले एक विकेट लिए ।