काठमाडौं । सट्टेबाजी (बेटिङ) साइटलाई नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो सिजनमा प्रचार गरेको भन्दै विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ(क्यान) लाई सचेत गराएको छ ।
बोर्डले एक विज्ञप्तिमार्फत दुईवटा एजेन्सीलाई जरिवानासहित तीन महिना प्रतिबन्ध लगाउँदै क्यानलाई सचेत गराएको हो ।
विज्ञापन बोर्डका प्रवक्ता तथा प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री)द्वारा जारी विज्ञप्तिमा विज्ञापन (नियमन गर्ने) ऐन-२०७६ उलंघन गरिएको भन्दै ब्रान्ड डिजिटल लजिक प्रालि र टिसिएम स्पोर्ट्स एन्ड मार्केटिङ प्रालिलाई कारबाही गरिएको छ ।
गत वर्षको पुसमा सम्पन्न एनपिएलमा खेलाडीको जर्सी, मैदान र स्टार स्पोर्ट्सबाट भएको प्रत्यक्ष प्रसारणमा पनि वान एक्सब्याट, वल्भ्स ट्रिपल सेभेन र डाफा न्युजजस्ता सट्टेबाजी साइटहरू प्रचार गरिएको थियो ।
त्यसविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै बोर्डले एजेन्सीलाई कारबाही गरेको हो । क्यानलाई यसबारे पटकपटक पत्राचार गर्दा पनि कार्यव्यस्तता देखाउँदै जबाफ नदिएको बोर्डको आरोप छ ।
विज्ञापन (नियमन गर्ने) ऐन–२०७६ अनुसार भविष्यमा यस्ता निर्देशनको बेवास्ता गरेमा बोर्डले विज्ञापन गर्न गराउनबाटै रोक लगाउने गरी क्यानलाई सचेत गराएको छ । उक्त विज्ञापन कारोबारमा संलग्न ब्रान्ड डिजिटल लजिक प्रालि र टिसिएम स्पोर्ट्स एन्ड मार्केटिङ प्रालिलाई भने कारबाही गरिएको छ । बोर्डमा सूचीकृत नभई अवैध विज्ञापन कारोबार गरेको भन्दै दुवै एजेन्सीलाई समान १० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै तीन महिनासम्म कुनै पनि प्रकारको विज्ञापन कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको बोर्डले उल्लेख गरेको छ ।
यस अवधिमा यी कम्पनीहरू बोर्डमा सूचीकृतसमेत हुन पाउने छैनन् । आगामी तीन महिनासम्म दुवै कम्पनीसँग कुनै पनि किसिमको विज्ञापन कारोबार नगर्न र नगराउन सम्पूर्ण विज्ञापनदाता तथा सञ्चारमाध्यमलाई बोर्डले अनुरोध गरेको छ ।