काठमाडौं । बागमती प्रदेशविरुद्ध सात विकेटको जित निकाल्दै मधेश प्रदेश टिबी शाह स्मृति यु-१६ राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
वीरेन्द्रनगरको कालिञ्चोक क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलमा बागमतीले प्रस्तुत गरेको ११३ रन लक्ष्य मधेशले १३.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
मधेशका लागि सान्तु मण्डलले अविजित ४३, आयन मुखियाले अविजित २९ र सुशान्त सिंहले १२ रन बनाए ।
बागमतीका लागि कप्तान प्रसिद्ध जेसीले दुई र कमल साहीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ३३ ओभरमा सबै विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो ।
बागमतीका लागि प्रसिद्ध जेसीले २५ रन , रोहित ठाकुरले २२, आशिष गुप्ताले १७ र सूर्यान्शु कोइरालाले १० रन बनाए ।
मधेशका रोहन यादवले तीन, राजीवकुमार सदा र सलमान अली मन्सुरीले समान दुई विकेट लिए ।