काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि नेपाल राष्ट्रिय टोलीका अलराउन्डर गुल्शनकुमार झा र बलर नन्दन यादवसहित ६ खेलाडी रिटेन गरेको छ ।
मंगलबार टाेलीले गुल्शन र नन्दनसँगै विपिन शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिसविक्रम ठकुरीलाई रिटेन गरेको कर्णाली याक्स स्पोर्टस प्रालीका निर्देशक गृहेन्द्र घिमिरेले बताए ।
‘पहिलो संस्करणमा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा हामीले ६ खेलाडीलाई विश्वास गरेको हौं,’ निर्देशक घिमिरेले भने, ‘हाम्रो केही खेलाडी कर्णाली प्रदेशको प्रतिनिधित्व पनि गरेका छन् ।’
हालै गुल्शन र नन्दनले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै स्कटल्यान्डमा भएको आइसिसी पुरुष विश्वकप लिग-२ खेलेका थिए । यस्तै, कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट उदाएका विपिन पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)कै उदयीमान खेलाडी घोषित भएका थिए । विपिन अहिले नेपाल यु-१६ टिमको कप्तान हुन् । अर्जुन, दीपेन्द्र र युनिस भने कर्णाली प्रदेशको लागि खेल्दै आएका छन् ।
यस्तै, कर्णाली याक्सले देव खनाल, भुवन कार्की, मौसम ढकाल, रित गौतम र दीपक डुम्रेलाई रिलिज गरेको छ । ‘उहाँहरुलाई पनि टिममै राख्ने चाहना थियो । तर, प्रतियोगिताको नियमावलीका कारण विदाई गर्नुपर्ने अवस्था आयो,’ घिमिरेले भनेका छन् ।
कर्णाली याक्सले सोमबार नै मार्कीमा अलराउन्डर सोमपाल कामीलाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।