काठमाडौं । एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार मलेसियाको बायोमास ओभलमा सम्पन्न खेलमा बंगलादेशले नेपालमाथि ९ विकेटको जित हासिल गर्यो ।
वर्षा बाधक बन्दा ११ ओभरमा घटाइएको खेलमा बंगलादेशले ५५ रनको सामान्य लक्ष्य ९.५ ओभरमा पूरा गर्यो ।
बंगलादेशका लागि फहमिदा चोयाले अविजित २६ रनको पारी खेले । नेपालका लागि कुुुसुम गोदरले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरको समाप्तिमा ५८ रनको योगफल खडा गरेको थियो । नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् ।
नेपालले समूह ‘बी’ को उपविजेता तथा बंगलादेशले समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरको यात्रा तय गरेका थिए ।
सुपर फोरको पहिलो खेल वर्षका कारण रद्द हुँदा नेपालले श्रीलंकासँग अंक बाँडेको थियो । उता बंगलादेश भारतसँग आठ विकेटले पराजित भएको थियो । बंगलदेशविरुद्ध जित निकाले नेपालले फाइनलमा स्थान सुरक्षित गर्ने समीकरण बनेको थियो ।
समूह चरणमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको नेपालले भारतसँग अंक बाँडेको थियो । नेपाल र भारतबीचको खेल वर्षाका कारण विना नतिजा टुंगिएको थियो ।
यस्तै बंगलादेशले श्रीलंकालाई २८ र घरेलु टोली मलेसियालाई १२० रनले हराएको थियो ।
फाइनलमा आइतबार बंगलादेशले भारतको सामना गर्नेछ ।