काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दोस्रो क्वालिफायर्समा कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्दैछ । र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
यस खेलको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । जनकपुरले पहिलो क्वालिफायर्समा यही सुदूरपश्चिमविरुद्ध आठ विकेटको हार बेहोरेको थियो । हारका बावजुद जनकपुरलाई फाइनलमा स्थान सुरक्षित गर्न फेरि अर्को अवसर छ ।
विपक्षी कर्णाली इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको हो ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले लिग चरण्मा आफ्नो पहिलो खेल जनकपुरसँगै खेलेको थियो । जुन खेलको नतिजा अनिल शाहको कप्तानीमा रहेको जनकपुरको पक्षमा गएको थियो । आफ्नो दोस्रो खेल खेलिरहेको जनकपुरले त्यतिबेला आठ विकेटको विजयी प्राप्त गरेको थियो ।
जनकपुरले दोस्रो स्थानमा रहेर क्वालिफायर्समा स्थान बनाएको थियो । उता कर्णाली नेट रनरेटका आधारमा काठमाडौं गुर्खाजलाई पछि पार्दै शीर्ष चारमा अटाउन सफल भएको थियो ।