काठमाडौं । ओपनर विनोद भण्डारीको अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्समाथि सहज जित हासिल गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायर्समा सुदूरपश्चिमले जनकपुरलाई आठ विकेटले हरायो । जनकपुरले प्रस्तुत गरेको १४० रनको प्रतिस्पर्धात्मक लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमविरुद्ध जनकपुरको यो लगातार दोस्रो पराजय हो । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको फराकिलो जित हासिल गरेको थियो । जनकपुरले अब दोस्रो क्वालिफायर्समा बिहीबार कर्णाली याक्सको सामना गर्नेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । बुधबार दिनको पहिलो खेलमा कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हरायो ।
दोस्रो खेलमा सुदूरपश्चिमका लागि ओपनर विनोदले ५५ बलमा समान तीन चौका र छक्कासहित ५८ रनको अविजित पारी गरे । त्यस्तै ओपनर सेफ जैबले ३२ रन बनाउँदा ब्रेन्डन म्याकमुलनले २५ र कप्तान दीपेन्द्रसिंह ऐरिले २० रनको योगदान गरे ।
जनकपुरका लागि ललित राजवंशी र किशोर महत्वले समान एक विकेट लिए ।
जैब र विनोदले पहिलो विकेटको लागि ५६ रनको साझेदारी गरे । आठौं ओभरको तेस्रो बलमा बल्ल जनकपुरले विकेटको खाता खोलेको थियो । किशोरले जैबलाई जिमी निसमबाट क्याच गराएका थिए । त्यसपछि क्रिजमा आएका म्याकमुलनले दोस्रो विकेटको लाथि ५९ रनको साझेदारी गरे । म्याकमुलन पनि निसमकै हातबाट क्याच भए । उनी १५औं ओभरको पहिलो बलमा ललितको शिकार बन्दै पेभिलियन फर्किएका हुन् ।
म्याकमुलनपछि क्रिजमा आएका दीपेन्द्रसिंहले तेस्रो विकेटको लागि २६ रनको साझेदारी गरे । जसमा दीपेन्द्रसिंह एक्लैले २० रन जोडे ।
त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको जनकपुरले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको थियो ।
जनकपुरका लागि निसमले २३ बलमा समान तीन चौका र छक्कासहित ४५ रनको पारी खेले । त्यस्तै शुभ कंसकारले २४ बलमा चार चौकासहित २६ रन बनाए । यसैगरी लाहिरु मिलन्था र हर्ष थाकरले समान १२ रन जोड्दा आसिफ सेख र अरनिको यादवले समान ११ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि दीपेन्द्रसिंहले चार ओभरमा २९ रन जोड्दै सर्वाधिक तीन विकेट लिए । त्यस्तै जैबले दुई विकेट लिँदा स्कट कुगुलेइन र अविनाश बोहराको नाममा समान एक विकेट रह्यो ।
जनकपुरले तेस्रो ओभरको पाँचौं बलमा ओपनर मिलन्थालाई गुमायो । मिलन्था कप्तान दीपेन्द्रसिंह ऐरिको बलमा एलबिडब्ल्युको शिकार बने । मिलन्थाले पहिलो विकेटको लागि आफ्ना ओपनिङ पार्टनर आसिफ शेखसँग १९ रनको साझेदारी गरे । कप्तान आसिफले यो साझेदारीमा सात रनको योगदान गरे । थप तीन रन बनाउँदै आसिफ पनि पेभिलियन फर्किए । आसिफलाई छैटौं ओभरको पाँचौं बलमा सेफ जैबले बोल्ड गरे ।
जनकपुरले तेस्रो विकेटको रुपमा शुभ कंसकारलाई गुमायो । दीपेन्द्रको उत्कृष्ट फिल्डिङप्रेरित जनकपुरले क्रिजमा जमिसकेका तेस्रो नम्बरका ब्याटर कंसकारको विकेट लिन सफल भएको हो । नवौं ओभरको अन्तिम बलमा कंसकार नाटकीय रुपमा रन आउटको शिकार बने । कंसकार एक रनका लागि दौडिएका थिए । तर, उनका स्ट्राइक पार्टनर हर्ष (थाकर)ले जोखिमका कारण रन लिन नमान्दा सुदूरपश्चिमले ब्रेक थ्रु पायो । थाकर र कंंसकारले २२ रनको साझेदारी गरे ।
त्यसपछि थाकरले अरनिकोसँग मिलेर चौथो विकेटको लागि १६ रनको साझेदारी गरे । १३औं ओभरको दोस्रो बलमा जनकपुरले थाकरलाई गुमायो । जतिबेला स्कोरबोर्डमा जनकपुरले ७५ रन जोडेको थियो । थाकरपछि क्रिजमा आए लयमा रहेका ब्याटर निसम । १६औं ओभरको अन्तिम बलमा अरनिको दीपेन्द्रसिंहको बलमा एलबिडब्ल्युको शिकार बने ।
दीपेन्द्रसिंहले १८औं ओभरमा व्यक्तिगत तेस्रो विकेट लिए । सुरुआती दुई बलमा निसमबाट दुई छक्काको सामना गरेका दीपेन्द्रसिंहले अन्तिम बलमा सातौं नम्बरका ब्याटर मोहम्मद मोसिनलाई बोल्ड गरे । मोसिन र निसमले छैटौं विकेटको लागि २७ रनको साझेदारी गरे । यो नै खेलको उच्च साझेदारी रह्यो । यो साझेदारीमा मोसिनले मात्र तीन रनको योगदान गरे । यसबीच जनकपुरले १६.२ ओभरमा एक सय रन पूरा गर्यो । मोसिन पेभिलियन फर्कँदा जनकपुरले १२४ रन जोडेको थियो ।
स्कोरबार्डमा ६ रन जोडिन नपाउँदै जनकपुरले निसमलाई गुमायो । सुदूरपश्चिमका लागि कुगुलेइनले महत्वपूर्ण विकेट लिए । निसम कुगुलेइनबाट बोल्ड भए । निसम लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने सोचमा थिए । पछिल्लो खेलमा निसमले चितवनविरुद्ध ६५ रनको पारी खेलेका थिए । सुदूरपश्चिमले अन्तिम ओभरमा तीन रनमा रहेका शेर मल्ललाई पेभिलियनको बाटो देखायो । शेर अविनाशको बलमा ब्रेन्डन म्याकमुलनबाट क्याच भए । पारीको अन्तिम बलमा ११औं नम्बरका ब्याटर किशोर महत्व बोहराबाट रनआउट भए ।