काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएलमा) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्ससामू १३९ सय रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो ।
पोखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाए ।
जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन र किशोर महतोले समान एक विकेट लिए ।
पाँचौं ओभरको अन्तिम बलमा ललितनारायण राजवंशीले जनकपुरलाई पहिलो सफलता दिलाए । उनले १६ बलमा तीन चौका र एक छक्काको मद्दतले २० रन बनाएका आन्द्रेस गौसलाई आसिफ शेखबाट क्याच गराए ।
जिमी निसमले छैटौं ओभरको पाँचौ बलमा दिनेश खरेललाई तुलबहादुर मगरबाट क्याच गराए । १७ बलको सामना गरेका उनले एक छक्काको मद्दतले १० रन बनाए ।
पोखराका कप्तान कुशल भुर्तेलको ब्याट आज पनि चल्न सकेन । ६ रन बनाएर खेलिरहेका कुशललाई सातौं ओभरको अन्तिम बलमा ललितले विकेटकिपर लाहिरु मिलन्थाबाट स्ट्याम्पिङ गराए ।
दिलिप नाथ ११औं ओभरको तेस्रो बलमा ११ रन बनाएर पेभेलेलियन फर्किए । १४ बलमा एक चौका प्रहार गरेका उनलाई मोहम्मद मोहसिनले एलबिडब्ल्युको शिकार बनाए ।
ललितले १७औं ओभरको तेस्रो बलमा मार्कस क्रिटलेलाई आफ्नो तेस्रो शिकार बनाए । ३० बलको सामना गर्दै ३५ रन बनाएका क्रिटले कप्तान अनिलकुमार साहबाट क्याच भए ।
जिमीले रेमन रिफरलाईै १९ औं ओभरको तेस्रो बलमा अनिलबाट क्याच गराए । उनले २० बलमा एक चौकाको मद्दतले १७ रन बनाए ।
अन्तिम ओभरको चौथो बलमा किशोर महतोले २५ रन बनाएर खेलिरहेका माइकल लिस्कलाई आसिफबाट क्याच गराए । १३ बलको सामना गरेका उनले तीन छक्का प्रहार गरे ।