काठमाडौं । जेमिमाह रोड्रिग्वेजको शतकप्रेरित घरेलु टोली भारतले एक खेल अगावै आयरयान्डविरुद्धको महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला आफ्नो पक्षमा पारेको छ ।
राजकोटस्थित सौराष्ट्र क्रिकेट संघको मैदानमा आइतबार सम्पन्न दोस्रो खेलमा भारतले ११६ रनको फराकिलो जित दर्ता गर्यो ।
जितसँगै भारतले तीन खेलको शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो ।
भारतले प्रस्तुत गरेको ३७१ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५४ रन मात्रै बनाउन सक्यो ।
आयरल्यान्डका लागि क्रिस्टिना राइलीले ११३ बलमा १० चौकाकाको मद्दतले सर्वाधिक ८० रनको योगदान गरिन् । यसैगरी सारा फोर्बेसले ३८, लोरा डेलानीले ३७, लेहा पउलले अविजित २७, अर्लेन केलीले १९, कप्तान गाबी लुइसले १२ र एभा क्यानिङले ११ रन बनाए ।
राइलीले चौथो विकेटका लागि डेलानीसँग ८३ र दोस्रो विकेटका लागि फार्बससँग ५५ रनको साझेदारी गरिन् । भारतका लागि दिप्ति शर्माले तीन, प्रिया मिश्राले दुई तथा तितस साधु र सायली सातघरेले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै ३७० रनको योगफल तयार पारेको थियो । भारतका लागि जेमिमाह राड्रिग्वेजले ९१ बलमा १२ चौकाको मद्दतले सर्वाधिक १०२ रनको योगदान गरिन् ।
यसैगरी हर्लिन देवलले ८९, कप्तान स्मृति मन्धनाले ७३, प्रतिका रावलले ६७ र ऋचा घोषले १० रन बनाए ।
तेस्रो विकेटका लागि रोड्रिग्वेज र देवलले १८३ र पहिलो विकेटका लागि मन्धना र रावलले १५६ रनको साझेदारी गरे ।आयरल्यान्डका लागि ओर्ला प्रेन्डरगास्ट र अर्लेन केलीले समान दुई तथा जर्जिना डेम्प्सीले एक विकेट लिए ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ ।