काठमाडौं । जय ट्रफी पुरुष एलिट कपको उपाधिका लागि मंगलबार दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब प्रतिस्र्धा गर्दैछन् ।
खेल वीरगन्जस्थित नारायणी किक्रेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । फाइनल खेल तीन दिवसीय हुनेछ ।
लिग चरणबाट पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेर उपाधि नजिक पुगेका थिए । पुलिसले दुई जित र एक बराबरीको नतिजा निकाल्दा आर्मीले दुई बराबरी र एक जित आत्मसात गरेको थियो ।
लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेलेको थियो । यता आर्मीले बागमतीसँग पनि बराबरी खेल्दा मधेशलाई हराएको थियो ।
आरिफ शेखको कप्तानीमा रहेको पुलिस लतिननारायण राजवंशी, कुशल भुर्तेल, अर्जुन साउद, गुल्शनकुमार झा, अमीत श्रेष्ठ जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।
ललित र अमीत आर्मीका लागि घातक बन्न सक्छन् । ललितले २.७८ को इकोनोमीमा १९ विकेट लिएका छन् ।
उनीभन्दा अगाडि शाहब आलम (२१) मात्रै छन् । एक इनिङमा ४७ रन दिएर सात विकेट लिनु ललितको उत्कृष्ट प्रदर्शन हो ।
यसैगरी अमीतले दुई अर्धशतकसहित ८२.९६ को स्ट्राइकरेटमा २२४ रन प्रहार गरेका छन् । उनी उच्च रनकर्तामा मायन यदाव (२६८) भन्दा पछाडि छन् । एक इनिङमा ७९ रन बनाउनु अमीतको उत्कृष्ट प्रदर्शन हो ।
यसैगरी विनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई शाहब आलम, बसिर अहमद, सोमपाल कामी, इम्रान, भीम सार्की जस्ता खेलाडीको साथ रहनेछ ।
शाहब र बसिर पुलिसका लागि समस्या बन्नसक्छन् । उच्च विकेटकर्ता दौडमा अगाडि रहेका शाहबले २.८५ को इकोनोमीमा २१ विकेट लिएका छन् ।
एक इनिङमा ५९ रन खर्चिएर आठ विकेट लिनु शाहको उत्कृष्ट प्रदर्शन हो ।
यता बसिरले दुई अर्धशतकसहित ६८.५० को स्ट्राइकमा १३७ रन बनाएका छन् । एक इनिङमा ६७ रन बनाउनु बसिरको उत्कृष्ट प्रदर्शन हो ।