काठमाडौं । कप्तान सिकन्दर राजाको अलराउन्ड प्रेदर्शनप्रेरित घरेलु टोली जिम्बावेले ट्वान्टी २० अन्तर्राष्ट्रिय शृखंलाको पहिलो खेलमा आयरल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ ।
हारारे स्पोर्टस क्लबको क्रिकेट मैदानमा बिहीबार आयरल्यान्डले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य जिम्बावेले अन्तिम बलमा नौ विकेट गुमाउँदै भेट्टायो ।
जिम्बावेका लागि राजाले ४२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६५ रनको योगदान गरे । विस्ली मदेभेरेले २५ र सिलिभ मदन्देले २० रन बनाए ।
आयरल्यान्डका लागि मार्क अदिर, जोश लिटल, ब्यारी म्याकार्थी, क्रेइग योङ्गले समान दुई तथा जर्ज डकरेलले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४७ रनको योगफल तयार पारेको थियो ।
आयरल्यान्डका लागि एन्ड्रयु बालबर्नीले ३२, ग्यारेथ डेलानीले अविजित २६, ह्यारी टेक्टरले २४, लार्कन टुकरले २१ र कप्तान पउल स्टर्लिङले १४ रन बनाए ।
जिम्बावेका लागि सिकन्दर राजाले तीन, रिचर्ड नागरावा र ब्लेसिङ मुजरबानीले समान दुई तथा सेन विलियम्सले एक विकेट लिए ।
जितसँगै जिम्बावेले तीन खेलको शृखंलामा १-० को अग्रता लिएको छ । शृखंलाको दोस्रो खेल शनिबार हुनेछ ।