काठमाडौं । घरेलु टोली भातरविरुद्ध महिला ट्वान्टी २० अन्तर्राष्ट्रिय शृखंलाको पहिलो खेलमा इङ्ल्यान्ड ३८ रनले विजयी भएको छ ।
मुम्बईस्थित वान्खडे क्रिकेट रंगशालामा इङ्ल्यान्डले प्रस्तुत गरेको १ सय ९८ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभर नै ब्याटिङ गरेपनि ६ विकेट गुमाउँदै १ सय ५९ रन मात्र बनाउन सक्यो ।
भारतका लागि शफाली वर्माले ४२ बलमा नौ चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरिन् । यसैगरी कप्तान हमरमनप्रित कौरले २६, रिचा घोषले २१, कनिका अहुजाले १५ र पूजा वस्त्राकरले ११ रन बनाए ।
तेस्रो विकेटका लागि वर्मा र कौरले ४१ रनको साझेदारी गरे । इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोन तीन, नटाली स्क्रिभर ब्रन्ट, फ्रिया केम्प र सारा ग्लेनले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि नटाली स्क्रिभर ब्रन्टले ५३ बलमा १३ चौकाको मद्दतले सर्वाधिक ७७ रनको योगदान गरिन् । यसैगरी ड्यानी वायटले ४७ बलमा आठ चौका र दुई छक्काको मद्दतले ७५ र एमी जोन्सले २३ रन बनाए ।
तेस्रो विकेटका लागि ब्रन्ट र वायटले १ सय २८ रनको साझेदारी गरे । भारतका लागि रेनुका सिंहले तीन तथा श्रीयन्का पाटिलले दुई र साइका इशाकले एक विकेट लिए ।
जितसँगै इङ्ल्यान्डले तीन खेलको शृखंलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार हुनेछ ।