नेपाल क्रिकेट संघ

क्यान र आइएमइ पेबीच सम्झौता

काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) र सोलुसन लिमिटेड (आइएमइ पे)बीच बिहीबार रणनितिक साझेदारी सम्झौता भएको छ । सम्झौता पत्रमा क्यानका सचिव पारस खड्का तथा आइएमइ पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार आइएमइ पे आगामी २ वर्षसम्म क्यानले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय खेलहरुको टिकेटिङ्ग पार्टनरका रुपमा रहने छ ।

यसैगरी आइएमइ पेले २ वर्षमा क्यानलाई १ करोड ५० लाख उपलब्ध गराउनेछ । जसबाट १२ प्रतिशत रेभेन्यु आइएमइ पेले नै लिनेछ । 

क्यानका सचिव खड्काले, आइएमइपेसँगको यो साझेदारीले नेपाली क्रिकेटको विकाशमा सहयोग पुर्योउने बताए ।  ‘आइएमइ पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसिको खबर हो,’ पासरले भने,‘ हामीसँग सहकार्य गर्नु भएकोमा मेरो व्यक्तिगत तथा सिंगो नेपाल क्रिकेट संघकोतर्फबाट आइएमइ डिजिटल सोलुसन लिमिटेडलाई धेरै धेरै धन्यवाद ।’

आइएमइ पेका प्रमुख कार्यकारी प्रमुख रेग्मीले नेपाली क्रिकेटसँग जोडिन पाउँदा गर्व लागेको बताए । ‘नेपाली क्रिकेटको विकासका लागि सहकार्य गर्ने अवसर प्रदान गरेकोमा क्यानलाई धन्यवाद चाहन्छु,’ रेग्मीले भने । 

यसैगरी १ सय ग्राउन्ड स्टाफको विमा हुने भएको छ ।  दर्शकका लागि पनि विमाको प्याकेज ल्याइनेछ ।