काठमाडौं । पाकिस्तानले एसिसी एसिया कपको सुपर फोरमा श्रीलंकासामू २ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा सात विकेट गुमाउँदै २ सय ५२ रनको योगफल तयार पारेको थियो । डकवर्थ लुइस पद्धतिको आधारमा श्रीलंकाले पनि २ सय ५२ रन नै लक्ष्य पाएको हो ।
वर्षाका कारण खेललाई ४२ ओभरमा झारिएको हो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ८६ रनको योगदान गरे । यसैगरी अब्दुल्लाह शफिक ६९ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ र मोहम्मद नवाजले १२ रन बनाए ।
छैटौं विकेटका लागि रिजवान र अहमदले १ सय ८ तथा दोस्रो विकेटका लागि शफिक र आजमले ६४ रनको साझेदारी गरेका थिए ।
श्रीलंकका लागि मथिशा पथिरानाले तीन, प्रमोद मदुशनले दुई तथा महेश महेश थिक्क्षना र दुनीथ वेलालागेले समान एक विकेट लिए ।