काठमाडौं । घरेलु टोली इङ्ल्यान्डले न्युजिल्यान्डविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा १ सय ८१ रनको सानदार जित निकालेको छ ।
इङ्ल्यान्ड्सको यो जितसँगै चार खेलको शृंखला २-१ को अवस्थामा पुगेको छ ।
लन्डनस्थित केनिङ्गटन ओभलमा बुधबार इङ्ल्यान्डले प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३९ ओभरमा १ सय ८७ रनमै समेटियो ।
ग्लेन फिलिप्सले १ सय ५ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ७२ रन बनाए पनि न्युजिल्यान्डलाई जित दिलाउन सकेनन् । उसैगरी रचिन रविन्द्रले २८, ड्यारिल मिचेलले १७, कायल जेमिसनले १४ र विल योंगले १२ रन जोडे ।
सातौं विकेटका लागि फिलिप्स र जेमिसनले ५७ रनको साझेदारी गरेका थिए ।
इङ्ल्यान्डका लागि लियम लिभिङ्स्टोन र क्रिस वोक्सले समान तीन, रिस टोप्लीले दुई तथा साम करन र मोइन अलीले समान एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै ३ सया ६८ रनको योगफल तयार पारेको थियो ।
इङ्ल्यान्डका लागि बेन स्टोक्सले१ सय २४ बलमा १५ चौका र नौ छक्काको मद्दतले १ सय ८२ रनको योगदान गरे । यससँगै स्टोक्स इङ्ल्यान्डका लागि एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । उनले २०१८ मा ओपनर जेसन रोयले अस्ट्रेलियाविरुद्ध बनाएको १ सय ८० रनको कीर्तिमान तोडेका हुन्।
यसैगरी डेविड मलानले ९५ बलमा १२ चौका र एक छक्काको मद्दतले ९६, कप्तान जोश बट्लसले ३८, मोइन अलीले १२ र लियम लिभिङ्गस्टोनले ११ रन बनाए ।
स्टोक्सले तेस्रो विकेटका लागि मलानसँग १ सय ९९ र चौथो विकेटका लागि बट्लरसँग ७८ रनको साझेदारी गरे ।
न्युनिल्यान्डका लागि ट्रेन्ट बोल्टले ९.१ ओभरमा ५१ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी बेन लिस्टरले तीन,लोकी फर्गुसन र ग्लने फिलिप्सले समान एक विकेट हात पारे ।
यसअघि न्युजिल्यान्डले आड विकेट र इङ्ल्यान्डले ७९ रनको जित निकालेका थिए ।शृंखलाको चौथो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।