एसिसी एसिया कप

नेपाल टोली आज स्वदेश फर्कदै

काठमाडौं । एसिसी एसिया कपअन्तर्गत विश्व क्रिकेटका महारथी देशहरु पाकिस्तान र भारतसँग खेलेको नेपाली क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्कँदै छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टोली दिउसो १२ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

नेपाल समूह ‘ए’ को दुबै खेलमा पराजित हुँदै सुपर फोरमा पुग्न असफल भएको हो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।

पाकिस्तानले दिएको तीन सय ४२ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेट गुमाउँदा एक सय ४ रनमा समेटिएको थियो । नेपालविरुद्ध पाकिस्तानका कप्तान बाबर आजमले एक सय ५१ तथा इफ्तिकर अहमदले एक सय ९ रन बनाएका थिए ।

दोस्रो खेलमा नेपाल भारतसँग दश विकेटले पराजित भएको हो । निर्धारित ५० ओभरमा नेपालले दुई सय ३० रन बनाएको थियो । तर, वर्षाले खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य एक सय ४७ को पायो । भारत २०.१ ओभरमा बिना विकेट विजयी भयो । कप्तान रोहित शर्माले ७४ र सुभमन गिलले ६७ रन बनाएका थिए ।

यसअघि नेपालको इनिङमा ओपनर आसिफ शेखले अर्धसतक बनाएका थिए । ९७ बल खेलेका आसिफले आठ चौकासहित ५८ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले ३८ रन जोडे । दुईबीच पहिलो विकेटको लागि ६५ रनको बलियो साझेदारी भएको थियो । सोमपाल कामीले ४८ रनको योगदान गरेपछि नेपाल दुई पटककको विश्व च्याम्पियन भारतविरुद्ध ठूलो स्कोर बनाउन सकेको थियो ।

यसअघि नेपाल घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै एसिया कपलाई छनोट भएको हो ।