टेस्ट क्रिकेट

पहिलो टेस्टमा पाकिस्तान विजयी

काठमाडौं । पाकिस्तानले पहिलो टेस्टमा घरेलु टोली श्रीलंकालाई चार विकेटले पराजित गरेको छ ।

गले अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकाले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पाकिस्तानले अन्तिम दिन ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

४८-३ को स्थितीबाट पाँचौँ तथा अन्तिम दिनको सुरुआत गरेको पाकिस्तानले थप तीन विकेट गुमाउँदै ८५ रन बनायो ।

पाकिस्तानका लागि इमाम उल हकले ८४ बलमा ४ चौका र १ छक्कको मद्दतमा अविजित ५० रनको योगदान गरे । यसैगरी साउद सकिलले ३० र कप्तान बाबर आमजले २४ रन बनाए ।

श्रीलंकाका लागि प्रभाथ जयसूर्याले चार र रमेश मेन्डिसले एक विकेट लिए ।

दोस्रो इनिङमा श्रीलंका २ सय ७९ रनमै समेटिएपछि पाकिस्तानले १ सय ३१ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो । 

श्रीलंकाका लागि धनन्जय डि सिल्भाले १ सय १८ बलमा १० चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे । यसैगरी निशान मदुशाकाले १ सय १५ बलमा सात चौका र एक छक्काको मद्दतमा ५२, रमेश मेन्डिसले ४२, दिनेश चान्डिमलले २८, कप्तान दिमुथ करुणारत्नेले २०, कुशल मेन्डिस १८ र प्रभाथ जयसूर्याले १० रन बनाए ।

पाकिस्तानका लागि अब्रार अहमद र नोमन अलीले समान तीन तथा शाहिन शाह अफ्रिदी र अघा सलमानले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका पहिलो इनिङमा ३ सय १२ रनमा समेटिएको थियो । 

 पाकिस्ताने पहिलो इनिङमा सबै विकेट गुमाउँदै ४ सय ६१ रन बनायो। पाकिस्तानले पहिलो इनिङमा १ सय ४९ रनको अग्रता लिएको थियो ।

जितसँगै दुई टेस्ट खेलको शृंखलामा पाकिस्तानले १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो तथा अन्तिम टेस्ट सोमबारदेखि कोलम्बोमा सुरु हुनेछ ।