आइसिसी एकदिवसीय विश्वकप छनोट

एकदिवसीय विश्वकप छनोटः श्रीलंकाको सानदार जित

काठमाडौं । श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोटमा ओमानामाथि १० विकेटको सानदार जित निकालेको छ ।

यससँगै लगातार दोस्रो जित निकालेको श्रीलंकाले समूह ‘बी’ मा चार अंक जोडेको छ । श्रीलंकाले पहिलो खेलमा युएईलाई हराएको थियो ।

पहिलो पराजय ब्यहारेको ओमान पनि तीन खेलबाट चार अंक नै छ । यसअघि ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो ।

जिम्बावेको हरारेस्थित क्विन्स स्पोर्टस क्लबमा ओमानले प्रस्तुत गरेको ९९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा कुनै पनि विकेट नगुमाइ भेट्टायो ।

श्रीलंकका लागि दिमुथ करुणारत्नेले ५१ बलमा आठ चौकाको मद्दतमा अविजित ६१ रन बनाए । पथुम निसन्का ३७ रनमा अविजित रहे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३०.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल तयार पारेको थियो ।

ओमानका लागि आयन खानले ४१, जतिन्दर सिंहले २१ र फयाज बटले अविजित १३ रन बनाए ।

पाँचौं विकेटका लागि खान र सिंहले ५२ रनको  साझेदारी गरेका थिए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७.२ ओभरमा दुई मेडनसहित १३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी  लाहिरु कुमाराले तीन र कासुन रजिथले एक विकेट लिए ।