आइसिसी एकदिवसीय विश्वकप छनोट

ओमानले दियो श्रीलंकालाई ९९ रनको लक्ष्य

काठमाडौं । ओमानले आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलकांसामू ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।  

जिम्बावेको हरारेस्थित क्विन्स स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३०.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनको योगफल तयार पारेको थियो । 

ओमानका लागि आयन खानले ४१, जतिन्दर सिंहले २१ र फयाज बटले अविजित १३ रन बनाए ।

पाँचौं विकेटका लागि खान र सिंहले ५२ रनको  साझेदारी गरेका थिए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ७.२ ओभरमा दुई मेडनसहित १३ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी  लाहिरु कुमाराले तीन र कासुन रजिथले एक विकेट लिए ।

श्रीलंका लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा श्रीलंकाले युएईलाई हराएको थियो ।

ओमान  लगातार तेस्रो जित निकाल्न चाहन्छ । यसअघि ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो ।