लुम्बिनी । रुपन्देहीमा हुने लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विकास गर्दै शान्तिको सन्देश दिने उद्देश्यसहित बुद्ध जन्मस्थलमा कार्यक्रम हुन लागेको हो । नेपाल ओलम्पिक कमिटी, लुम्बिनी प्रदेश खेलकुद परिषद, लुम्बिनी बिकास कोष र नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास आयोजकका रुपमा छन् ।
यो कार्यक्रमले लुम्बिनीको महत्वलाई विश्वमाझ अझै परिचित बनाउन योगदान दिने विश्वास आयोजकको छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्कवायरबाट सुरु भै पुनः त्यही आएर टुंगिने गरी रुट बनाईएको र अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी म्याराथनको ४२.१९५ मिटर दुरी मापन समेत भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।
सचिव भट्टराईका अनुसार पुरुषतर्फको म्याराथनमा प्रथम हुनेले ५ लाख, दोश्रोले ३ लाख रुपैया, तेश्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसैगरी चौथो देखि १०औं स्थानमा रहनेले क्रमशः १ लाख, ८० हजार, ६० हजार, ४० हजार, २० हजार १० हजार र ५ हजार पाउनेछन् ।
त्यसै गरी महिला तर्फको हाफ म्याराथन(२१.०९७५ मिटर)मा प्रथम हुनेले २ लाख, दोश्रोले १ लाख ६० हजार तथा तेश्रो हुनेले १ लाख २० हजार रुपैया पाउने छन् । त्यसै गरी ५ किमीको महिला पुरुषको दौड र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ । ५ किमी र ३ किमी दुबै स्पर्धाका बिजेताले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपालसहित चीन, पाकिस्तान, श्रीलंका, केन्या लगायत देशका धावकहरु सहभागी हुने आयोजकले बताएको छ ।
लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत चैत २३ गते बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणिराम लामिछानेले जानकारी दिए ।
चैत २४ गते लुम्बिनी स्क्वायरमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुनेछ । उसै दिन साँझ लुम्बिनी शान्ति कन्सर्ट आयोजना गरिएको छ । जसमा आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतले प्रस्तुति दिनेछन् ।