काठमाडौं । वेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा शनिबार स्वर्ण पदक जितेका छन् । ५५ किलोमिटर दौडमा वेदबहादुर पुरुष तथा निर्मला महिलातर्फ पहिलो भए ।
पुरुषमा मनकुमार रोका मगर दोश्रो तथा गोपाल तामाङ तेश्रो भए । महिलामा छोकी शेर्पा दोश्रो भइन् । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ८० हजार, ३५ हजार र २० हजार रुपैयाँ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ स्पोर्ट्स क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष २५ किलोमिटरमा अर्जुन कुलुङ राईले स्वर्ण, तिलकबहादुर सुनुवारले रजत र करण रावलले कांस्य पदक जिते ।
उक्त स्पर्धाको महिलामा प्रिया राई पहिलो, सुन्सरी रोकाय दोश्रो तथा हुमी बुढा मगर तेश्रो भए । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ४५ हजार, दोश्रोले २५ हजार र तेश्रोले १० हजार रुपैयाँ प्राप्त गरे।
पुरुष ५ किलोमिटर दौडमा अक्कलबहादुर पाल प्रथम, निरज भट्ट द्वितीय र सुवास कार्की तृतीय भए । सोही स्पर्धाको महिलामा सिर्जना पाण्डेय पहिलो, पद्माकुमारी सुनुवार दोश्रो र सोनिमा शेर्पा तेश्रो स्थानमा रहे । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ जिते ।
विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कार वितरण गरे । त्यसअघि प्रतियोगिताको उद्घाटन पनि सदस्यसचिव घिसिङले गरेका थिए ।
प्रतियोगितामा १२७ पुरुष, ३१ महिला र पाँच विदेशी खेलाडी सहभागी थिए । म्याराथन सुनापतीको हिलेदेखि सुरु भइ सैलुङको चुचुरोमा पुगेर टुंगिएको थियो ।