भलिबल

खुट्टा भाचिएपछि रुपेन्द्र र विजयले बाँकी खेल गुमाउँने

काठमाडौं । खेल दौरान घाइते भएपछि दुई भलिबल खेलाडीले नवौं वृहत राष्ट्रिय खेलकुदका बाँकी खेल गुमाउने भएका छन् ।

मंगलबार पोखरा रंगशालामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको दोस्रो खेल जारी रहँदा तीन खेलाडी घाइते भएका थिए ।

दोस्रो सेट चलिरहँदा एपिएफका रुपेन्द्र नेपाली र टेक अवस्थी तथा लुम्बिनीका विजय परियार घाइते भएका थिए । जम्प गरेपछि ल्यान्डिङको क्रममा खेलाडीहरु घाइते भएका हुन् ।

मैदानको प्राथमिक उपाचार पछि अस्पताल पुगेका रुपेन्द्र र विजयको खुट्टामा प्लास्टर गरिएको छ । रुपेन्द्रको दायाँ खुट्टा र विजयको बायाँ खुट्टामा प्लास्टर गरिएको छ । यता, गोलिगाँठोमा चोट लागेका टेकको अवस्था सामान्य  छ । टेकले बाँकी खेल खेल्ने बताएका छन् ।

केही दिनअघि गण्डकीका प्रेम कुमाल पनि यसैगरी खेलक्रममा भएका थिए । उनी पनि चोटकै कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।

खुल्ला कोर्टमा म्याट राखेर खेलाइएको प्रतियोगितामा म्याटकै कारण खेलाडी घाइते भएपछि म्याट निकालिएको छ  । खेल भने एपिएफले ३-२ को सेटमा जितेको छ ।