काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश खेलकुद विकाश बोर्डले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा पुरुषतर्फ जित दर्ता गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा बुधबार आर्मीले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० सेटको सोझो सेटमा हरायाे ।
आर्मीले खेल २५-२२, २५-२२, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै सात खेलमा १४ अंक जोडेको आर्मी तेस्रो स्थानमा उक्लिएको छ । सातवटै खेलमा पराजित सुदूरपश्चिम अंकविहिन रह्यो ।
आर्मीले तेस्रो स्थानका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
अर्को खेलमा कोशीले मणिमुकुन्द भलिबल क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्याे ।
कोशीले खेल २५-२२, २५-२३, २५-१५ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै सात खेलमा सात अंक जोड्यो । पराजित मणिमुकुन्दको पनि समान खेलबाट सात अंक नै छ ।
यसैगरी महिलातर्फका खेलमा नेपाल पुलिस क्लबले न्यु डायमन्ड स्पोर्टस क्लब तथा एभरेस्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई समान ३-० को सोझो सेटमा जित निकाले ।