काठमाडौं । लिग लिडर नेपाल पुलिस क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार संकटा कलबविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै पुलिसले १० खेलमा २५ अंक जोडेको छ । पराजित संकटा समान खेलबाट १९ अंकका साथ चौथो स्थानमा छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा विभागीय टोली पुलिसलाई जित दिलाउन समीर कुमारले दुई तथा रिजनराज गौतम र मेसी वीरविक्रम शाहले समान एक गोल गरे । संकटाका लागि कप्तान पेम्बा तामाङले गोल फर्काए ।
खेलको १३औं मिनेटमा रिजनको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । चार मिनेटपछि नै समीरले टोलीको अग्रता दोब्बर बनाए ।
पेम्बाले ५२औं मिनेटमा संकटाका लागि गोल फर्काए । ८५औं मिनेटमा मेसीले गोल गर्दा पुलिसको अग्रता ३-१ मा पुग्यो ।
इन्जुरी समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दा पुलिसले ४-१ को सहज जित निकाल्यो ।
बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब श्री भगवती क्लबसँग २-२ को बराबरीमा रोकिएको थियो ।