काठमाडौं । उरुग्वेविरुद्ध ५-१ को सहज जित निकाल्दै साबिक विजेता ब्राजिल महिला कोपा अमेरिकाको उपाधि नजिक पुगेको छ ।
रोड्रिगो पाज डेल्गाडोमा बुधबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा ब्राजिललाई जित दिलाउन अमान्डा गुटिएरेसले दुई तथा जियो गार्बेलिनी, कप्तान मार्टा र डुडिन्हाले समान एक गोल गरे । उरुग्वेका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।
खेलको ११औं मिनेटमा गुटिएरेसको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गार्बेलिनीले टोलीको अग्रता दोब्बर बनाइन् ।
मार्टाले पेनाल्टीमार्फत गोल गर्ला पहिलो हाफमा ब्राजिलले ३-० को आरामदायी अग्रता लिएको थियो । ५१औं मिनेटमा इसा हासबाट आत्मघाती गोल हुन पुग्दा खेल ३-१ को स्थितीमा आयो ।
गुटिएरेसले ६५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा डुडिन्हाले गोल गरेपछि ब्राजिलले ५-१ को सहज जित दर्ता गर्यो ।
ब्राजिलले उपाधिका लागि कोलम्बियाको सामना गर्नेछ । पहिलो सेमिफाइनलमा कोलम्बियाले अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गरेको थियो ।
सर्वाधिक आठ पटकको च्याम्पियन ब्राजिलले १०औं पटक (हालसम्मका सबै ) फाइनल यात्रा तय गरेको हो । यता चौथो पटक फाइनल पुगेको कोलम्बियाले उपाधि भने जित्न सकेको छैन ।
यी दुईबीचको अघिल्ला तीन फाइन भेटमा ब्राजिल विजयी भएको छ ।