काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगमा पुरुषतर्फ लगातार चौथो जित दर्ता गरेको छ ।
मंगलबार पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा सम्पन्न विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्यो ।
सुरुआती दुई सेट २५-२०, २५-२२ ले आफ्नो पक्षमा पारेको आर्मीले निकै रोमाञ्चक तेस्रो सेट भने २६-२८ ले गुमायो । चौथो सेटमा आर्मी २५-१८ ले विजयी भयो ।
जितसँगै ६ खेलमा ११ अंक जोडेको आर्मी चौथो स्थानमा छ । पराजित पुलिस समान खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ ।
आर्मीको यो जितसँगै साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले फाइनलमा स्थान बनाएको छ ।
मंगलबारै सम्पन्न पुरुषतर्फका अन्य खेलमा गण्डकी प्रदेश भलिबल संघले हेल्प नेपाल तथा एपिएफले कोशी प्रदेश खेलकुद विकाश बोर्डलाई समान ३-२ तथा मणिमुकुन्द भलिबल क्लबले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा हराए ।
यसैगरी महिलातर्फको खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबले एपिएफ तथा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई समान ३-० को सोझो सेटमा पराजित गरे ।