पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) गण्डकीको आयोजनामा प्रदेशस्तरिय सुवासचन्द्र नेम्वाङ स्मृति पुरुष खुला भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता भदौ २७ देखि ३१ सम्म पोखराको पृथ्वीनारायण क्याम्पसको कोर्टमा हुनेछ ।
संविधानसभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष नेम्वाङको २०८० साल भदौ २७ गते निधन भएको थियो । उनको पहिलो स्मृतिको दिन पारेर प्रतियोगिता आयोजना गर्न लागिएको अनेरास्ववियु गण्डकी अध्यक्ष प्रवीन श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले मात्र सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । तर, टोलीले राष्ट्रियस्तरका खेलाडी भने राख्न पाउने छन् । यी खेलाडी गण्डकी प्रदेशकै हुनुपर्नेछ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ७१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।
प्रतियोगितामा सहभागिताका लागि भदौ २५ गतेसम्म ७ हजार ५०० रूपैयाँ तिरेर टोली दर्ता गर्न सकिने छ ।