काठमाडौं । आफ्नो जमानाका राष्ट्रिय भलिबल खेलाडी बन्ने सपना देख्थे लालबहादुर मल्ल । बजाङबाट क्षेत्रीय प्रतियोगिता खेल्नेक्रममा उनको खुट्टा भलिबल जालीमा पर्यो । अस्पताल पुग्दा खुट्टा भाँचिएको थाहा पाएका थिए । त्यस दिनदेखि लालबहादुरको राष्ट्रिय टोलीबाट खेल्ने सपना पूरा हुन सकेन । कोर्टमा फर्कन सक्ने उनको स्थिति रहेनन् ।
आफ्नो सपना पूरा नभए पनि सन्ततिलाई राष्ट्रिय खेलाडी बनाउने सपना भने देख्न भने छाडेका थिएनन् । छोरा हेमन्त मल्ल पनि भलिबलका सौखिन हुन् । घरको जल्दाबल्दा आफू नै थलिएपछि लालबहादुरले छोरा हेमन्तलाई राष्ट्रिय खेलाडी बनाउने सपना पूरा गर्न नसक्ने अवस्था देखे । आर्थिक अवस्था निकै कमजोर थियो । तर, नातिको सपना पूरा गर्न हजुरआमा देवादेवी भने तयार भइन् ।
नातिलाई खेलाडी बनाउन हजुरआमाले नाकको बुलाकी धितो राखिन् । लालबहादुरले बझाङ बजारमा आफ्नी आमाको बुलाकी बेचेर छोरा हेमन्तलाई जुत्ता किनिदिएका थिए । धनगढी पुग्न तथा खाना र बसोबासका लागि ४ हजार खर्च पनि दिए । हजुरआमाको बुलाकी बेचेरबाट किनेको जुत्ता लगाउँदै भलिबल कोर्ट छिरेका हेमन्तले आजका दिनमा राष्ट्रिय खेलाडी पहिचान बनाएका छन् । देशको प्रतिनिधित्व गर्दै देश, विदेशमा नाम उच्च बनाएका छन् ।
बंगलादेश र किर्गिस्तानमा उनले राष्ट्रको प्रतिनिधित्व गरे । आफूलाई नेपाली भलिबलको एक प्रतिभावान अलराउन्डरको रूपमा स्थापित गरेका छन् । अबको चुनौती सिनियर खेलाडीलाई पछि पार्दै उनी आफू स्थापित हुनु रहेको छ । ‘मलाई अझै पनि याद छ । भलिबल खेल्ने सपना हुँदाहुँदै पनि बाबाको खुट्टा भाँचियो । आर्थिक स्थिति कमजोर थियो । हजुरआमाले नातिको सपना पूरा गर्नुपर्छ भनेर बुलाकी बाबालाई दिनुभएको थियो । अहिले बाबा र हजुरआमाको सपना पूरा गरेंजस्तो लाग्छ,’ हेमन्त विगत सम्झँदै हजुरआमा र बाबाको त्यो प्रेरणा सुनाउँछन् ।
भलिबल खेल्ने सपना हुँदाहुँदै पनि बाबाको खुट्टा भाँचियो । आर्थिक स्थिति कमजोर थियो । हजुरआमाले नातिको सपना पूरा गर्नुपर्छ भनेर बुलाकी बाबालाई दिनुभएको थियो ।
घरगाउँमा अग्लो कदको केटा सधैं भलिबल प्रतियोगिता खेल्दै आएको थियो । बावु क्षेत्रीय खेलाडी भएकाले हेमन्तले ६ वर्षकै उमेरमा भलिबल समात्न सुरु गरेका थिए । बाबासँग भलिबल शट हान्न सिके । पछि स्कुलस्तरीय खेल खेल्न थाले । नेपालगन्ज, दाङ र बाँकेमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाट खेल्न छनोट भए ।
उनले १८ वर्षको उमेरमा प्रदेशस्तरीय खेलकुद खेले । यही प्रतियोगिता खेल्न छनोट भएपछि हजुरआमाले बुलेकी बेचेर पैसा जोहो गरिदिएकी थिइन् । धनगढीमा पहिलो पटक जुत्ता लगाएर उनले भलिबल कोर्टमा प्रशिक्षण गर्ने मौका पाएका हुन् । त्यसअघि हरेक दिन खाली खुट्टा भलिबल कोर्टमा पुगेको अनुभव हेमन्तसँग छ ।
राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीश भट्टले हेमन्तको कौशल र भविष्य देखेका थिए । जसका कारण सुदूरपश्चिमको टोलीमा स्थान पाएका हुन् ।
हेमन्तका लागि आठौं खेलकुद उत्साहजनक भयो । २०७६ सालमा राष्ट्रपति रनिङ सिल्ड हुँदा पहिलो पटक काठमाडौं ओर्लिएका हुन् । लिटिल बुद्धबाट भलिबल प्रतियोगिता खेले । केन्द्रमा झरेका हेमन्तको खेलमा नजर पर्नेकोे संख्या बढेको थियो । काठमाडौंमा सहयोग गरेका कृष्ण बिकले विभागीय टोलीबाट खेल्न अनुरोध गरे ।
उनको मन नेपाल पुलिस क्लबबाट खेल्छु भन्ने थियो । तर, सशस्त्र प्रहरी बल (एपिएफ)मा अलराउन्डर नभएको र त्यहाँ राम्रो अवसर हुनसक्ने कृष्णले सुझाए । एपिएफका पूर्वखेलाडी तथा प्रशिक्षक विजय केसी (हाल खेलकुद विभाग प्रमुख) सँग भेट भएपछि उनको एपिएफबाट खेल्ने पक्का भयो । हेमन्तले ६ वर्षयता एपिएफबाट खेल्दै आएका छन् ।
दुई वर्षदेखि जागिरे छन् । ‘राष्ट्रिय खेलकुदपछि काठमाडौंमा राष्ट्रपति रनिङ सिल्ड खेलेको हुँ । यसपछि जागिरे भएर घर फर्किएँ । एपिएफबाट खेल्ने अवसर पाएँ । राष्ट्रपति रनिङ सिल्डमा राम्रो गर्दा एपिएफबाट खेल्ने ढोका खुले जस्तो लाग्छ,’ खुसी हुँदै हेमन्त सुनाउँछन् ।
पछिल्लो वर्षहरूमा एपिएफमा राम्रो अवसर नपाए पनि बंगलादेशमा भएको काभा यु–२३ प्रतियोगिता र किर्गिस्तानमा भएको काभा च्यालेन्ज कप खेलेपछि हेमन्तको प्रदर्शन स्तर नै फेरिएको छ । अब भने पछाडि सायद फर्कनुपर्दैन ।
एक भलिबल खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण हेमन्तमा छ । अनुशासित भएकाले नै उसलाई पछाडि फर्कनुपर्दैन ।
‘एक भलिबल खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण हेमन्तमा छ । अनुशासित भएकाले नै उसलाई पछाडि फर्कनुपर्दैन । उनले यु–२३ र सिनियर टोलीमा जुन प्रदर्शन गरेका छन् । यसले हेमन्त लामो दौडको घोडा हो भन्ने जनाएको छ,’ राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्ट हेमन्तको बारेमा भन्छन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सातौं प्रधानमन्त्री कप एनभिए क्लब लिग भलिबल सम्पन्न भएको छ । हेमन्तले उत्कृष्ट प्रदर्शनसँगै एपिएफले विभागीय टोलीहरू र हेल्प नेपाललाई राम्रो चुनौती दिएको थियो ।
प्रतियोगितामा हेमन्तको प्रदर्शन उच्चस्तरको रहेको प्रशिक्षक भट्ट बताउँछन् । ‘अहिले भएका खेलाडीमा मिहिनेती, स्तरीय, तीव्र गति र शारीरिक रूपमा हेमन्त बलियो छन् । उनको जुन आत्मबल र विश्वास छ, त्यसले अब्बल रहेको साबित भएको छ । पाँच सेट नै खेल्न सक्ने अवस्थाका छन् । सुरुबाट अन्त्यसम्म उस्तै खेल छ । टेक्निकल र ट्याक्टिकल राम्रो छ,’ २३ वर्षीय हेमन्तको बलियो पक्षबारे प्रशिक्षक भट्टको बुझाइ छ ।
यो बायाँहाते खेलाडी अहिले स्पाइकमात्रै खेल्छन् । पछिल्ला दिनमा नेपालको राम्रो सेटर विकल्प हुनसक्छ ।
प्रशिक्षक भट्टले हेमन्त झन्डै १५ वर्ष नेपाली भलिबललाई धान्न सक्ने खेलाडी रहेको तर्क गर्छन् । तर, त्यसका लागि हेमन्तले आफ्नो भूमिका फेर्दै सेटरमा पुग्नुपर्ने उनको ठम्याइ छ । ‘यो बायाँहाते खेलाडी अहिले स्पाइकमात्रै खेल्छन् । पछिल्ला दिनमा नेपालको राम्रो सेटर विकल्प हुनसक्छ । २–३ वर्ष स्पाइक खेलेर सेटरमा आफूलाई परिवर्तन गर्नुपर्छ, उसले देशका १५ वर्ष खेल्न सक्छ । हामीले भलिबललाई राम्रो बनाउन यस्ता युवा खेलाडीलाई अगाडि बढाउनुपर्छ,’ हेमन्तको क्षमता चिनेका प्रशिक्षक भट्ट सुनाउँछन् ।
६.१ इन्च अग्लो कदका खेलाडीले किर्गिस्तानविरुद्ध २३ वर्षको उमेर डेब्यू अवसर पाएका हुन् । प्रशिक्षक भट्टले पहिलो सेटमै खेलाएका थिए । यो दिन हेमन्तले आफ्नोसहित बुवा र हजुरआमाको सपना पूरा भएको मानेका थिए । ‘डेब्युपछि घरमा फोन भयो । बाबाममी, हजुरआमा, दुई बहिनी र एक भाइसँग गफ भयो । सबैजना मेरो उपलब्धिमा खुसी थिए । आखिर घरपरिवार सबैले यही चाहना राख्नुभएको थियो । अब एकदिन हजुरआमाको त्यो बुलाकीको ऋण तिर्नु छ । तर, त्यसका लागि आफूलाई अझै सुधार गर्छु,’ हेमन्त भावुक सुनिए ।