काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धन बुधबार काठमाडौं जिल्ला तेक्वान्दो संघबाट सम्मानित भएकी छन् ।
पलेशालाई १ लाख ३८ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जानकारी दिए ।
प्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार तथा पेरिस पारा ओलम्पिकमा सहभागी तेक्वान्दो खेलाडी भरतसिंह महतालाई १० हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो ।
व्यवस्थापक रामचन्द्र श्रेष्ठ प्रशंसा पत्र तथा पलेशाका बुवा प्रदिपलाई मायाको चिनो प्रदान गरिएको थियो ।
यसैगरी बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्टिच्युटले पनि पलेशालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ,
सम्मान कार्यक्रममा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्ग, नेपाल च्याम्बर अफ कमर्सका सदस्य एवं शिक्षा तथा खेलकुद उपसमितिका अध्यक्ष रुपकराज बन्सीलगायतको उपस्थिति थियो ।