काठमाडौं । टप स्पिन टेबलटेनिस गुड्स नेपाल र एभिएम टेबलटेनिस क्लबले स्ट्याग ग्लोबल च्याम्पियन्स लिगको सिजन-३ को पहिलो दिन आइतबार संयुक्तरुपमा अग्रता लिएका छन् ।
पहिलो चरणको खेल समाप्तिमा दुवैले समान १० अंक जोडेका छन् । यसैगरी आयोजक स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी र द ड्रागन्स टेबलटेनिस क्लबको समान ९ अंक छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा भोर्टेक्स नेपाल टेबलटेनिस क्लबले आठ, कीर्तिपुर नगरपालिकाले सात, होप्स टेबलटेनिस एकेडेमी र ओल्ड हाउस रेस्ट्रोले समान ६ तथा यल टेबलटेनिस र खोल्चा पुखु खेलकुद समितिले समान पाँच अंक बटुलेका छन् ।
बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतियोगितामा १० टिम सहभागी प्रतियोगिताका विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रो हुने दुई टोलीले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता शुक्रबारसम्म हुनेछ ।