नेपाल कराते महासंघ

प्रशिक्षक श्रेष्ठमाथि तीन महिनाको प्रतिबन्ध

काठमाडौं ।  नेपाल कराते महासंघले १९औं एसियाली खेलकुदअन्तर्गत करातेको छनोट दौरान भएको विवादमा दोषी देखिएको भन्दै प्रशिक्षक दिपक श्रेष्ठमाथि तीन महिनाको प्रतिबन्ध लगाएको छ । 

ओमकृष्ण प्रसाईको नेतृत्वमा रहेको छानबिन समितीको प्रतिवेदनको आधारमा महासंघले नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)का अध्यक्षसमेत रहेका श्रेष्ठमाथि प्रतिबन्ध लगाएको हो । त्यस्तै सामान ताोडफोड गरेको आरोपमा महासंघका सचिव ध्वजमान लामालाई १० वटा कुर्सी बराबरको क्षतीपूर्ति तिराउने निर्णय भएको छ । 

श्रेष्ठ दक्षिण एसियाली खेलकुद (साग) मा लगातार दुई स्वर्ण विजेता खेलाडी हुन । उनी सन् २००८ देखी प्रशिक्षकको भुमिकामा आएका छन ।

चीनको होङझावमा आगामी सेप्टेम्बर २३ देखि १९औं एसियाली खेलकुदका लागि जेठ १८ गते सातदोबाटोस्थित कराते हलमा खेलाडीको छनोट भएको थियो । छनोटको अन्तिम दिन विवाद भएसँगै हातपात र तोडफोड समेत भएको थियो । प्रशिक्षक श्रेष्ठ रेफ्री काउन्सिल गएपछि सुरु भएको विवादले उग्र रुप लिएको थियो । 

महासंघका सदस्य कृष्ण गौतम र श्रेष्ठबीच हात हालाहाल भएको थियो । महासंघका सचिव ध्वजमान लामाले रेफ्रीको निर्णयमा आपत्ति जनाउँदै कुर्सी तोडफोड गरेका थिए । सो झडपमा कृष्ण गौतम पनि घाइते भएका थिए । त्यसको केही क्षणपछि नै रेफ्री र ध्वजमानबीच पनि हानाहान भएको थियो ।

प्रशिक्षक श्रेष्ठ र नेपाल कराते महासंघका सदस्यबीचको झडप व्यक्तिगत रिसिबीका कारण विवाद भएको बताइएको थियो । 

‘हामीले दिपक श्रेष्ठसहित घटनामा सलंग्नहरुसँग स्पष्टिकरण लिएका थियौ’,छानबिन समितीका संयोजक प्रसाईले भने, ‘उहाँहरुले लिखित रुपमा र महासंघमै उपस्थित भएर गल्ती भएको स्विकार गर्नु भएको थियो । प्रशिक्षक श्रेष्ठले पहिले हात हाल्नु गल्ती भएको बताउनु भयोे । त्यसको आधारमा हामीले गत साता नेपाल कराते महासंघसामु प्रतिवेदन बुझाएका थियौ । महासंघको बुधबार बसेको बैठकले श्रेष्ठमाथि तीन महिनाको प्रतिबन्ध लगाउने र ध्वजमानलाई १० वटा कुर्सी बराबरको क्षतीपुर्ती तिराउने निर्णय गरेको हो ।’

नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुष/ महिलामा समान चार गरी आठ खेलाडी छनोट भएका थिए ।