दोश्रो आइएफके फुल कन्ट्याक्ट कराते प्रतियोगिता

विजय र अर्पणालाई स्वर्ण

दोश्रो आइएफके फुल कन्ट्याक्ट करातेका पदक विजेता लगायत

काठमाडौं । विजय राई र अर्पणा तामाङले दोश्रो आइएफके फुल कन्ट्याक्ट कराते प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ५५ केजी तौलसमूहको पुरुषमा विजय तथा महिलामा अर्पणाले स्वर्ण जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा विजयले अनिल बराम तथा महिला फाइनलमा अर्पणाले सविना आले मगरलाई पराजित गरे ।

इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालद्वारा आयोजित प्रतियोगिताको ६० केजी पुरुषमा राजेन्द्र तामाङ र महिलामा प्रजिना राई, ४५ केजीको पुरुषमा शेख रिज्वान र महिलामा शिवानी आले मगर तथा ५० केजीको पुरुषमा मोहम्मद इरफान शेख र महिलामा आरती लोप्चनले स्वर्ण  हात पारे ।

पुरुष ६५ केजीमा महेन्द्र गज्मेर तथा महिला ६० केजीमाथि अनुपा नेपालीले स्वर्ण चुमे । 

विजेतालाई संघीय सांसद् नारायण दाहाल, आयोजक संघकी अध्यक्ष अमृता थापा, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, २ हजार ५ सय र १ हजार रुपैयाँ प्रदान गरियो । दुई दिने प्रतियोगितामा १ सय २५ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।