काठमाडौं । इ-स्पोर्टस संघ नेपालको आयोजनामा इ-स्पोर्टसको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता सुर्खेतमा हुने भएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी असार १४ र १५ गते हुने जानकारी दियो ।
च्याम्पियनसिपमा पब्जी मोबाइल, मोबाइल लिजेण्डस र इ फुटबल गरी तीन खेल समावेश गरिएको संघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।
पब्जी मोबाइलको छनोट अनलाइनमार्फत हुने र अन्तिम १६को फाइनल राउन्ड भौतिक रुपमा गरिने संघले जनाएको छ । मोबाइल लिजेण्डसका सम्पूर्ण खेल अनलाइन तथा इ फुटबलको प्रारम्भिक छनोट अनलाईन, सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिनेछ ।
संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तराष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए ।
प्रतियोगिताको पुरुस्कार राशि १२ लाख रुपैयाँ छ । जसमा ७० प्रतिशत पब्जी मोबाइलमा, २० प्रतिशत एमएलबिबी र १० प्रतिशत पुरस्कार इ फुटबलमा बाँडिने संघले जनाएको छ ।
तीन वटै खेल विधाका विजेताले आसन्न एसियन इ-स्पोर्टस च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने संघ अध्यक्ष धमलाले जानकारी दिए ।
टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरि तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ । संघको वेव साईटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रुपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए ।
अनलाइन छनोट असार ४ देखि १० गतेसम्म हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन् ।