विश्व एथलेटिक्स च्याम्पियनसिप

पहिलो ग्लोबल फाइनलमै रिचर्डसनलाई स्वर्ण पदक

काठमाडौं । करिअरको पहिलो ग्लोबल फाइनलमै अमेरिकाकी सि’कारी रिचर्डसनले विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२३ अन्तर्गत महिला एकल १ सय मिटर दौडमा स्वर्ण पदक जितेकी छन् ।

हंगेरीको राजधानी बुडापेस्टमा जारी च्याम्पियनसिपमा २३ वर्षीय रिचर्डसनले सोमबार सम्पन्न फाइनलमा जमैकाकी सरिका ज्याक्सन र सेलीयन फ्रेजर प्राइसलाई पछि पारेकी हुन् ।

राम्रो सुरुवात लिन नसके पनि रिचर्डसनले दौड १०.६५ सेकेन्डमा पूरा गरिन् । दोस्रो भएकी ज्याक्सनले १०.७२ सेकेन्डमा दौड पूरा गर्दा तेस्रो स्थानकी प्राइसले १०.७७  सेकेन्ड खर्चिएकी थिइन् ।

दुई वर्षअघि रिचर्डसनले निलम्बनका कारण टोकियो ओलम्पिक गुमाएकी थिइन् । त्यस्तै गत वर्ष ओरेगन, अमेरिकामा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा रिचर्डसन छनोट भएकी थिइनन् ।