काठमाडौं । नेपालका पौडीबाज खेलाडी एलेक्जेन्डर शाहले १०० मिटर फ्रि स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । तर उनी हिट चरणबाट अगाडि बढ्न भने सकेनन् ।
पेरिस ओलम्पिकमा एलेक्सले ५१.९१ सकेन्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान थियो । उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपमा सो कीर्तिमान बनाएका थिए ।
आठ खेलाडी रहेको हिट ३ मा एलेक्स तेस्रो स्थानमा रहे। एलेक्सले वाइल्ड कार्ड कोटामै पेरिस ओलम्पिक खेल्ने पक्का गरेका हुन् । उनले २०२० को टोकियो ओलम्पिक पनि खेलेका थिए ।
यससँगै पेरिस ओलम्पिकमा सहभागी सात मध्ये ६ नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ ।
यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान ओलम्पिकबाट बाहिरिसकेका छन् ।
अब एथलेटिक्सकी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्न बाँकी छ । प्रिन्सले एक खेल बाँकी रहे पनि उनी समूह चरणबाट अगाडि नबढ्ने निश्चित भइसकेको छ ।