काठमाडौं । हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय चेस दिवस जुलाई २०) को अवसरमा युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस प्रतियोगिता आयोजना गर्ने भएको छ ।
विश्व बुद्धिचाल महासंघ (फिडे) ले आफ्नो स्थापनाको १०० वर्ष पनि मनाइरहेको छ । सोही अवसरमा फिडे यसपालि २० जुलाईमा २४ घन्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गर्ने अभियानमा रहेको छ, जसलाई फिडे १०० गिनिज वर्ल्ड रेकर्ड अटेम्प्ट’ नाम दिइएको छ ।
फिडेको यही अभियानअन्तर्गत नेपालमा ‘हिमालयन १००’ आयोजना गर्न लागिएको हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बुले बताइन् । प्रतियोगिता शनिबार हुनेछ ।
नेपालको पहिलो महिला राष्ट्रिय चेस च्याम्पियनसमेत रहेकी खम्बूले भनिन्, ‘फिडेले १०० वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिनको लागि हामीले हिमालयन १०० आयोजना गर्न लागेका छौं । स्वीस प्रणलीको आधारमा १० राउन्डमा सञ्चालन गरिने प्रतियोगितामा १०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।’
उनले पहिला नाम दर्ता गर्ने खेलाडीलाई अवसर दिइने पनि बताएकी छन् ।
‘चेस खेलेरै गिनिज वर्ल्ड रेकर्ड्स बनाउने विश्वव्यापी अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको छ । मानिसको बौद्धिक विकाससँग प्रत्यक्ष जोडिएको खेल चेसमा सानै उमेरदेखि नै आकर्षित गर्न चाहन्छौं ,’ युक्ति फाउन्डेसनकी प्रतिनिधि युक्ति लामा श्रेष्ठ भनिन् ।
प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ७ हजार, तेस्रो हुनेले ४ हजार, चौथोले ३ हजार तथा पाँचौंले २ हजार पाउने छन् । त्यस्तै, छैटौंदेखि १० औं स्थानमा रहने खेलाडीले जनही १ हजार प्राप्त गर्नेछन् ।
महिलाको विजेताले ३ हजार, उपविजेताले २ हजार र तेस्रो हुनेले १ हजार हात पार्नेछन् । त्यस्तै, अनरेटेड, यु-९, यु-११, यु-१३, यु-१५, वेस्ट एचसिए, उत्कृष्ट विद्यार्थी (१० कक्षासम्म र १० कक्षामाथि), रेटिङ १७०० मुनि, १९०० मुनि र भेट्रान (५५ वर्षमाथि) गरी ११ विधालाई पनि समावेश गरिएको छ ।
सबै स्पर्धाका विजेताले १ हजारदेखि १ हजार ५०० रुपैयाँ सम्म पाउने छन् । तर, कुनैपनि खेलाडीलाई दोहोर्याएर पुरस्कार प्रदान गरिने छैन । खेलाडीले प्रतियोगिताको निम्ति नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार तोकिएको एकेडेमीले जनाएको छ ।
हिमालयन १०० को भेन्यू पार्टनर किङ्स कलेज, स्टाइलिङ पार्टनर ले लर्ड, फुटवेयर पार्टनर खडाउ रहेका छन् । क्लोथिङ ब्रान्ड कोक्रोमाले पनि साथ दिएको छ ।
हिमालयन चेस एकेडेमीले दोस्रो प्रतियोगिताको रुपमा हिमालयन १०० आयोजना गर्न लागेको हो । एकेडेमीले यसअघि एइइ कप आयोजना गरेको थियो ।