काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्नु बताएका छन् ।
उनले सोमबार पदभार ग्रहण गरेका थिए । ‘हाम्रोको मुख्य समस्या भनेको व्यवस्थित खेल पुर्वाधार नहुनु नै हो । विभिन्न स्थानमा मैदान भए पनि ती पूर्ण रूपमा निमार्ण भइसकेका छैनन् । त्यसैले मेरो प्रमुख प्राथमिता खेल पूर्वाधारमा हुनेछ,’ मन्त्री चौधरीले भने ।
उनले पेरिस ओलम्पिकका लागि छनोट भएका खेलाडीको प्रशिक्षण र सहभागिता व्यवस्थित गर्ने समेत अनुरोध गरे । उनले भने, ‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीको प्रशिक्षण र सहभागीतालाई व्यवस्थित गर्न निर्देशन दिन्छु ।’
आगामी मंसिरमा हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न समेत आफूले निर्देशन दिने बताएका छन् । यसैगरी मन्त्री चौधरीले खेल संघमा देखिएको विवादलाई टुंग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्न निर्देशन पनि दिए ।
मन्त्री चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्राविधिक जनशक्तिको अभाव भएको कुरामा आफू जानकार रहेकाले यसको समाधानमा आफ्नो विशेष पहल रहने बताएका छन् ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले चार महिना मन्त्रालय सम्हालेका थिए। सरकार परिवर्तन भएसँगै नेपाली कांग्रेसका चौधरीले यो जिम्मेवारी पाएका छन्।