नवौं राष्ट्रिय खेलकुद

राष्ट्रिय खेलकुद अन्तर्गत आज १५ खेल हुने

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले पोखरा रंगशालामा उद्घाटन गरेसँगै आज मध्यान्हबाट नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव औपचारिक रुपमा सुरु हुनेछ ।

तथापि विभिन्न खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत आज शुक्रबार १५ वटा खेलहरु सञ्चालन हुनेछन् ।

फेन्सिङमा कुल १२ मध्ये ११ स्वर्ण पदकको छिनोफानो भइसकेको छ । बाँकी एउटा स्वर्ण पदकको आज टुंगो लाग्नेछ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङको प्रतियोगिता आजै सम्पन्न हुनेछ ।

यसैगरी फुटबलमा महिलाको प्रतियोगिता स्याङजाको वालिङ तथा पुरुषको प्रतियोगिता पोखराकै गोस्टेघाट खेल मैदानमा हुनेछ । महिला हक्की पोखराको गण्डकी बोर्डिङ स्कुल तथा पुरुष हक्की ह्याम्जाको गौरीशंकर खेल मैदानमा हुँदैछ ।

पोखरा रंगशाला परिसरस्थित कभर्डहलमा जारी ह्यान्डबल शनिबारसम्म चल्नेछ भने महिला क्रिकेट पोखरा रंगशालामै जारी छ ।

टेनिस, बक्सिङ, पुरुष भलिबल, सफ्ट टेनिस र पुरुष बास्केटबल पोखरा रंगशाला परिसरमै आजबाट सुरु हुनेछन् । महिलाको भलिबल म्याग्दीको बेनीमा बिहीबारबाट सुरु भइसकेको छ ।

त्यस्तै पोखराको रानीबनमा साइक्लिङ, बेनीमा तेक्वान्दो, बाग्लुङमा आइटिएफ तेक्वान्दो, तनहुँमा महिला बास्केटबल तथा ललितपुरको सातदोबाटोमा सुटिङका खेलहरु पनि आजै सुरु हुँदैछन् । बुद्धिचाल भने बिहीबारबाट गोर्खामा सुरु भइसकेको छ ।