काठमाडौं । विश्व बुद्धिचाल महासंघ (फिडे) को आयोजनामा हंगेरीको बुढापेस्टमा जारी ४५औं चेस ओलम्पियाडमा नेपालबाट विवेक थिङले मात्र सहभागिता जनाउने भएका छन् ।
अस्ट्रेलियाबाट हंगेरी पुगेका विवेकले र्यापिड र ओपनमा प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल बुद्धिचाल महासंघले पुरुषमा राष्ट्रिय च्याम्पियन राजन सुवेदी, गत वर्षका विजता रुपेश जैसवाल, सुश्रुत दाहाल र क्षितिज भण्डारी तथा महिलामा राष्ट्रिय च्याम्पियन सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठलाई प्रतियोगिताका लागि छनोट गरेको थियो ।
नयाँ दिल्लीस्थित हंगेरी दूतावासले भिसा दिन अस्विकार गरेपछि नौ खेलाडी भने चेस ओलम्पियाड खेल्नबाट बञ्चित भए ।
नेपालमा हंगेरीको दूतावास नभएका कारण नेपाली टोलीले दिल्लीबाट भिसाको प्रयास गरेको थियो । तर दिल्लीबाट नेपालस्थित जर्मन दूतावासबाट प्रक्रिया अगाडि बढाउने सुझाब आएपछि नेपाल बुद्धिचाल संघले सोही अनुरुप कार्य गरेको थियो ।
नेपालस्थित जर्मन दूतावास भदौ ५ मा नेपाली टोलीलाई भिसा दिन अस्विकार गरेपछि टोलीले पुनः दिल्लतीबाटै प्रायस गरेको थियो ।
दिल्लीको दूतावासले बुधबार भिसा दिन असमर्थ रहेको जानकारी गराएको थियो ।
टोलीमा महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धर्मबहादुर लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य राजु ताम्राकारलगायत २१ सदस्य थिए ।