काठमाडौं । बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको ३८औं संस्करणमा पहिलो दिन नेपालका सद्भाव आचार्यले एकल अग्रता लिएका छन् ।
३-अन्डर ६९ को नतिजामा सद्भावले घरेलु खेलाडी मोहम्मद शाहबुद्दिनलाई तीन स्ट्रोकले पछि पारे ।
ढाकास्थित कुर्मितोला गल्फ क्लबमा सद्भावले पहिलो १८ होलको खेल बोगी फ्री खेले। उनले पहिलो देखि १०औं होलसम्म पार बचाए । यसपछि ११, १३र १७औं होलमा एक-एक सट बचाउँदै ३-अन्डरको उत्कृष्ट स्कोरकार्ड तयार पारे ।
शाहबुद्दिन इभन-पार ७२ सहित दोस्रो स्थानमा छन् । २-ओभर ७४ को स्कोरमा नेपालका राहुल विक, श्रीलंकाका चकिथा पुष्पिका र बंगलादेशका सफिकुल इस्लाम र मोहम्मद समिम संयुक्तरुपमा तेस्रो स्थान छन् ।
राहुलले फ्रन्ट नाइन इभन-पार ३६ मा पुरा गर्ने क्रममा दोस्रो, छैटौं र नवौं होलमा एक–एक सट खेर फाले । तेस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरे । राहुलले १० र १७औं होलमा एक-एक सट खेर फाल्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए ।
टिम इभेन्टमा पनि सद्भाव र राहुलको जोडी १-अन्डर १४३ को स्कोरसहित शीर्षस्थानमा छ । नेपालले बंगलादेशको ’ए’ टिमलाई पाँच स्ट्रोकले पछि पारेको छ । बंगलादेश ‘ए’ का अबु बकर सिद्दिकी र मोहम्मद शाहबुद्दिनको टिमले ४-ओभर १४८ स्कोर बनाएको छ ।
बंगलादेश ‘बी’ का सफिकुल इस्लाम र रोमन मिया ६-ओभर १५० को स्कोरसहित तेस्रो स्थानमा रहे ।
चार दिने प्रतियोगितामा १०० खेलाडीको सहभागीता छ । टिम इभेन्ट्समा आठ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।