इङ्लिस प्रिमियर लिग

ग्वार्डिओला थप दुई वर्ष सिटीमै

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीले मुख्य प्रशिक्षक पेप ग्वार्डिओलासँग सम्झौता नवीकरण गरेको छ । बुधबार ग्वार्डिओला र सिटीले थप दुईवर्ष सहकार्य गर्ने सम्झौता गरेका हुन् ।

सम्झौताअनुसार ग्वार्डिओला सन् २०२५ सम्म इत्तिहादमा रहनेछन् । ५१ वर्षीय वार्डिओलाको सम्झौता जारी सिजनको अन्त्यसँगै सकिदै थियो । ‘थप दुई वर्ष सिटीमै रहन पाउँदा प्रशन्न छु । मलाई विश्वास गरेकोमा धन्यवाद,’ गत सिजन सिटीलाई प्रिमियर लिगको उपाधि जिताएका ग्वार्डिओलाले भने ।

सिटीका अध्यक्ष खाल्दून अल मुबारकले ग्वार्डिओलाको नेतृत्वमा टोलीले ठूला उपलब्धी हासिल गर्ने विश्वास गरे । ग्वार्डिओला सन् २०१६ मा सिटी आएयता टोलीले ११ उपाधि जितिसकेको छ ।

पछिल्ला पाँच सिजनमा चार पटक प्रिमियर लिगमा उपाधि जितेको टोलीले समग्रमा तीन सय ७४ खेलमा दुई सय ७१ जित हासिल गरेको छ । यसक्रममा टोलीबाट ९ सय २१ गोल भएका छन् ।